citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सेयर बजारमा रेकर्ड ब्रेक : एकै दिन ४ अर्बको कारोबार, नेप्से १६०० अंक नजिक

kumari bank
Prabhu Insurance Long Ad
global bank
आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६
काठमाडौं  । सेयर खरिदबिक्री रकमले बुधबार फेरि अर्को नयाँ कीर्तिमान कायम गरेको छ । पछिल्लो समय उत्साहजनक हिसाबले वृद्धि भएको सेयर बजारमा कारोबार रकमले अत्याधिक साथ दिएको छ । लगानीकर्ताहरु निकै सक्रिय देखिएका छन् । नाफा हुँदा बेच्ने र फेरि भाउ घटेपछि किनिहाल्नेहरु पनि उत्तिकै बढेका छन् । यसरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन दुवै हिसाबले योजनाबद्ध र रणनीतिक हिसाबले सेयर कारोबार गर्नेहरु पनि उत्तिकै सक्रिय देखिएको अग्रपंक्तिमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई छ ।

अनलाइन प्रणालीका कारण पनि खरिदबिक्रीमा थप माहोल ल्याउन सहयोग पुगेको हो । बजारले स्पष्टरुपमा बुलिस ट्रेन्ड देखाएको छ । निरन्तर कारोबार रकम र नेप्से सूचक दोहोरो अंकले माथि लागेको छ । पुँजी बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने वाणिज्य बैंकहरुको समेत सर्किट लाग्ने गरी भाउ बढ्न थालिसकेको छ । प्रायः सबै समूहका सूचक चलिसकेका छन् ।

यी यावत् तथ्यहरुले बजार प्रस्टै बुल रनमा प्रवेश गरेको अनुभवी लगानीकर्ताहरु बताउँछन् । तर बुल रन भन्दैमा प्रत्येक दिन बजार बढ्छ वा बढ्नुपर्छ भन्ने होइन । समग्र बजारले माथिल्ला विन्दुहरु तय गर्दै जाने हो । बेस्सरी बढेपछि केही करेक्सन आउनुलाई बुल बजारमा पनि स्भाविक मानिन्छ । तर औसतमा यस्तो अवधि र प्रतिशत भने न्यून हुने गर्छ ।

यता, अर्थमन्त्रीबाट युवराज खतिवडा बाहिरिने सम्भावनाका समाचारहरु पनि सार्वजनिक भएका छन् । यसबाट एकथरी लगानीकर्ता झनै खुशी भएका छन् । उनी पुँजी बजारमैत्री हुन नसकेको भन्नेहरु पनि पर्याप्त छन् । तथापि, उनकै कार्यकालमा फेरि पुँजी बजार बढ्न भने थालिसकेको छ ।
बजारमा दिनहुँ नयाँ माहोल पैदा भइरहेको छ । आम लगानीकर्ता अत्याधिक उत्साहित देखिएका छन् । यसले समग्र बजारलाई अझै माथि लैजान सहयोग पुग्ने देखिएको छ । बैंकहरुको ब्याजदर घटेको छ । बजार प्रविधिमैत्री बनेको छ । अनलाइनका कारण कारोबार गर्न निकै सजिलो भएको छ । लगानीकर्ताको संख्या दिनहुँ बढ्दो क्रममा छ । यसले पनि सेयर बजारको आगामी भविष्य निकै उज्जवल रहेको अनुभवी लगानीकर्ताहरु बताउँछन् ।
सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । यतिबेला सर्वसाधारण लगानीकर्ता बजार सुधारप्रति निकै उत्साहित भइरहेका छन् । सोही कारण बजारले दिनहुँ नयाँ उचाई लिंदै गएको हो । सेयर बजार सुधारका लागि सरकारले पनि काम गरिरहेको छ । करिब ४२ महिनासम्म निरन्तर बजार तल झर्दा आम लगानीकर्ताले खरबौं रुपैयाँ गुमाएका थिए । बजारमा सेयर भाउ निकै सस्तो भएको थियो । यही मौकामा बजारमा अनुभवी लगानीकर्ताको प्रवेश भएको हो ।
ब्रोकरहरुका अनुसार यतिबेला बजारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीनै किसिमका लगानीकर्ता हावी भइरहेका छन् । अल्पकालीन खरिदबिक्रीकर्ताले दैनिक कारोबारलाई नयाँ उचाईमा पुर्याउन सहयोग पुर्याइरहेका हुन्छन् भने मध्यकालीन र दीर्घकालीन लगानीकर्ताले पनि होल्ड गर्ने हिसाबले सेयर खरिद गरिरहेका फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन् ।
बजार बढिरहँदा आम लगानीकर्ता संयमित हुन जरुरी छ । नेप्से एकोहोरो हिसाबले बढ्ने वा घट्ने मात्र गर्दैन । वित्तीय सूचकहरु अध्ययन गर्दै अघि बढ्नुपर्छ । कम्पनीको वित्तीय क्षमता, नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी लगायतका सूचकहरुलाई पनि ध्यान दिनुपर्छ ।
नेप्से सूचक बुधबार ५० अंकले बढेर १५९६.१३ विन्दुमा आइपुगेको छ । १८० कम्पनीको ४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९९ लाख ६ हजार ९८९ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका १२ वटै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ५७१.१८ अंकले बढेको छ । यता, निर्जीवन बिमा समूह पनि २३३.५१ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक ५०.४७ अंकले वृद्धि भएको छ ।
म्युचुअल फन्ड सञ्चालन गर्न पाउने खबरले पनि बिमा समूहमा बेस्सरी तेजी आएको हो । खरिदबिक्रीमा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको २१ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, दोस्रोमा शिवम् सिमेन्ट्स र तेस्रोमा नेपाल बैंक परेका छन् ।

शिवमको १८ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एभरेष्ट बैंक (कन्भर्टिवल प्रिफिरेन्स), राष्ट्रिय बिमा कम्पनी, युनिलिभर नेपाल लगायतका कम्पनीको भाउ १०% ले बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै ८.२९% का दरले राधी विद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

gold
himalayan life insurance long ad