सेयर बजारमा फेरि अर्को छलाङ
आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६
काठमाडौं । सेयर बजार फेरि चम्किन थालेको छ । सोमबार सामान्य करेक्सन भएको बजारमा मंगलबार फेरि नयाँ तरंग सुरु भएको हो । मंगलबार कारोबारको सुरुवाती चरणमा बजार २१ अंकसम्म घटेको थियो । त्यसपछि फेरि बजारले नयाँ यात्रा आरम्भ गरेको हो । १५ सय विन्दुमा बजार निकै बलियो देखिएपछि आम लगानीकर्ता थप उत्साहित भएको अनुमान छ । पछिल्ला दिनहरुमा नेप्सेले लगातारजसो छलाङ मारिरहेको छ । खरिदबिक्री रकम र नेप्से सूचक दुवैमा आक्रामक वृद्धि देखिएको छ ।
बजारमा दिनहुँ नयाँ माहोल पैदा भइरहेको छ । आम लगानीकर्ता अत्याधिक उत्साहित देखिएका छन् । यसले समग्र बजारलाई अझै माथि लैजान सहयोग पुग्ने देखिएको छ । बैंकहरुको ब्याजदर घटेको छ । बजार प्रविधिमैत्री बनेको छ । अनलाइनका कारण कारोबार गर्न निकै सजिलो भएको छ । लगानीकर्ताको संख्या दिनहुँ बढ्दो क्रममा छ । यसले पनि सेयर बजारको आगामी भविष्य निकै उज्जवल रहेको अनुभवी लगानीकर्ताहरु बताउँछन् ।
सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । यतिबेला सर्वसाधारण लगानीकर्ता बजार सुधारप्रति निकै उत्साहित भइरहेका छन् । सोही कारण बजारले दिनहुँ नयाँ उचाई लिंदै गएको हो । सेयर बजार सुधारका लागि सरकारले पनि काम गरिरहेको छ । करिब ४२ महिनासम्म निरन्तर बजार तल झर्दा आम लगानीकर्ताले खरबौं रुपैयाँ गुमाएका थिए । बजारमा सेयर भाउ निकै सस्तो भएको थियो । यही मौकामा बजारमा अनुभवी लगानीकर्ताको प्रवेश भएको हो ।
ब्रोकरहरुका अनुसार यतिबेला बजारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीनै किसिमका लगानीकर्ता हावी भइरहेका छन् । अल्पकालीन खरिदबिक्रीकर्ताले दैनिक कारोबारलाई नयाँ उचाईमा पुर्याउन सहयोग पुर्याइरहेका हुन्छन् भने मध्यकालीन र दीर्घकालीन लगानीकर्ताले पनि होल्ड गर्ने हिसाबले सेयर खरिद गरिरहेका फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन् ।
बजार बढिरहँदा आम लगानीकर्ता संयमित हुन जरुरी छ । नेप्से एकोहोरो हिसाबले बढ्ने वा घट्ने मात्र गर्दैन । वित्तीय सूचकहरु अध्ययन गर्दै अघि बढ्नुपर्छ । कम्पनीको वित्तीय क्षमता, नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी लगायतका सूचकहरुलाई पनि ध्यान दिनुपर्छ । नेप्से सूचक ४३.०२ अंकले बढेर १५४५.१९ विन्दुमा आइपुगेको छ । १८० कम्पनीको २ अर्ब ९९ करोड (झन्डै ३ अर्ब) रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० लाख ५९ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
खरिदबिक्री भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह चम्किएको छ । यो समूहको सूचक ६७३.४९ अंकले बढेको छ । निर्जीवन बिमा समूह पनि ३०७.०९ अंकले वृद्धि भएको छ । यता, वाणिज्य बैंक समूहको सूचक पनि १२.८९ अंकले माथि लागेको देखिन्छ । खरिदबिक्री रकममा हिमालयन डिष्टिलरीले अग्रस्थान लिएको छ । यसको १६ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा शिखर इन्सुरेन्स परेका छन् । यस दिन गुराँस लाइफ इन्सुरेन्स, हिमालयन डिष्टिलरी, स्वदेशी लघुवित्त, युनिलिभर नेपाल, शिखर इन्सुरेन्स, एलआइसी नेपाल लगायतका कम्पनीहरुमा १०% भाउ बढेर सर्किट ब्रेकर लागेको छ । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ३.६३% ले गुमाएका छन् ।