आज अन्तिम मौका हिमालयन बैंकको लाभांश सुरक्षित गर्ने
काठमाडौं । हिमालयन बैंकको लाभांश सुरक्षित गर्ने आज पुस १३ गते सोमबार अन्तिम दिन हो । बैंकले १४% बोनस सेयर र ६% नगद लाभांश गरी कुल २०% लाभांश वितरण गर्दैछ ।
साधारण सभा प्रयोजनका लागि पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । हिमालयन बैंकको साधारण सभा पुस २७ गते हुने भएको छ ।
सभा बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज, एक्विजीसन हुन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
बैंकको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।






















