stcnepal long ad
ime life insurance
national life
global ime bank long

महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ समारोहमा राष्ट्रपति सरिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।                                                    शास्त्रीय मान्यता अनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ । यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ ।
समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७६’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने हुद्दा लक्ष्मण बजगाईं र दोस्रो हुने जमदार राम बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाज अन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
कार्यक्रमलाई रोमाञ्चक तुल्याउने क्रममा सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरियोे । त्यस अन्तर्गत पिटी, तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।
उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनी र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।                                                                                                         सो अवसरमा आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास प्रस्तुत भयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहित मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नु भएको थियो । समारोहमा नेपाल भ्रमणमा रहनु भएका बेलायती सेनाध्यक्ष मार्क कार्लटन स्मिथ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजन लगायत बिद्युतीय माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।                                                                                                  समारोहपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चार माध्यममा सेना बिटमा समाचार लेख्दै आउनु भएका पत्रकारलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुभयो ।
समाजका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पु¥याएका महानुभावलाई पनि सो पदक प्रदान गरियो । समारोहमा उत्कृष्ट कार्य गर्ने सेनाका विभिन्न गणलाई पुरस्कार एवं निशान चिह्न प्रदान गरिएको थियो ।

IME Lifesidebar
kumari