प्रेस काउन्सिलद्वारा विभिन्न पुरस्कार घोषणा, गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई
काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार ‘दृष्टि’ साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गर्ने भएको छ । काउन्सिलका पूर्वअध्यक्ष गोपालदास श्रेष्ठका स्मृतिमा स्थापित कोषबाट हरेक वर्ष पुरस्कार वितरण गरिँदै आएको छ । काउन्सिलको ५१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतल निवासमा हुने वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण हुने जनाइएको छ।
उक्त पुरस्कारको राशि रु एक लाख ५१ हजारको छ । सो पुरस्कार गत वर्ष ‘हाँक’ साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो । यस्तै रु एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई र रु ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम काठमाडौँलाई दिइने भएको छ ।
यस्तै प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री झापा, राजन कार्की काठमाडौँ. धर्मेन्द्र कर्ण धनुषा, ऋषि धमला धादिङ, उमेश श्रेष्ठ काठमाडौँ, दीपेन्द्र श्रेष्ठ कास्की र नितु पण्डित काठमाडौँले पाउने भएका छन् । उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।
यस्तै प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १४ जनालाई प्रदान गरिने छ । रु १५ हजार राशिको उक्त पुरस्कार सटेन्द्र जबेगु इलाम, सुरेशचन्द्र अधिकारी चितवन, माधव पौडेल काठमाडौँ, गणेश चौधरी कैलाली, गिरिजा अधिकारी मकवानपुर, राजु विक सिरहा, कमला श्रेष्ठ काठमाडौँ, राजन सिंह धनुषा, देवीकुमारी गुरुङ रोल्पा, रेणु पराजुली उदयपुर, दीपेन्द्र वली सुर्खेत, शेरबहादुर थापा सुर्खेत, राधिका कँडेल फोटो पत्रकार, कास्की र शान्ता कमली लमजुङले पाउने भएका छन् ।
यसैगरी प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नवप्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईले पाउने भएका छन् । दुवै पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।
























