अमेरिकाले आफ्ना देशवासीलाई पुनः १२ सय डलर बाड्ने
–गणेश थापा
(आर्थिक सञ्जाल)
क्यालिफोर्निया। संयुक्त राज्य अमेरिकाले आफ्ना देशवासीलाई पुनः एक हजार २ सय डलर राहत स्वरुप वितरण गर्नेभएको छ ।
नोवेल कोरोना भाइरसको संक्रमणका कारण संसारकै सवैभन्दा बढी मानवीय तथा आर्थिक क्षति व्यहोरिरहेको अमेरिकाले यस अघि गत अप्रिलमा १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो ।
संसदमा सत्तारुढ दल रिपब्लिकन र विपक्षी डेमोक्रेटिकका सांसदहरुको संयुक्त प्रयासमा बुधवार सार्वजनिक गरिएको करीव डेढ ट्रिलियन डलर बराबरको राहत प्याकेजमा १२ सय डलरको चेक वितरण गर्नेदेखि रोजगार विहिनलाई चार सय ५० डलरको साप्ताहिक बेरोजगारी भत्ता एवम् कोरोना भाइरसको महामारीबाट प्रभावित साना तथा मझौला व्यापार व्यवसायलाई आर्थिक सहायता प्रदान गर्ने लगायतका विविध पक्षलाई समेटिएको छ ।

अमेरिकी सरकारले यसअघि विभिन्न चरणमा गरी कोरोना भइरसबाट उत्पन्न संकट मोचनका लागि अमेरिकाको इतिहासमै सर्वाधिक तीन ट्रिलियन डलर भन्दा बढी राशीको विशाल आर्थिक सहायता प्याकेज ल्याइसकेको छ । हाल ल्याइएको नयॉ राहत प्याकेज सम्बन्धी विधेयक संसदको दुवै सदनबाट पारित भएपश्चात मात्र कार्यान्वयनमा आउने छ ।
विधेयकमा राज्यको कर प्रणालीमा आबद्धभई वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी गर्ने प्रत्येक वयस्क मानिसले १२ सय डलर आपतकालिन राहत स्वरूप पाउने छन् भने कोरोना महामारीका कारण काम गुमाएकाहरुलाई साप्ताहिक चार सय ५० डलर कम्तीमा दुई महिनाका लागि दिइने कुरा समेटिएको वताइएको छ ।
यधपि यो विधेयक आगामी नोभेम्वर ३ मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन अघि संसदबाट पारित हुनेमा भने सांसदहरू नै विश्वस्त देखिएका छैनन् ।

अमेरिकामा यसअघि काम गुमाएका झण्डै तीन करोड ६० लाख बढी मानिसले आफ्नो रोजगारी गुमेको भन्दै वेरोजगारी बीमाका लागि फारम भरेकोमा हाल कोरोना भाइरसको संक्रमणमा कमी आएको, बजारमा मानिसहरुको चहल–पहल बढेको तथा काममा फर्किनेको संख्यामा समेत वृद्धि भइरहेको आदि कारणले गर्दा उल्लेखित वेरोजगार संख्यामा केही कमी आएको सम्बन्धित अधिकारीहरूले उल्लेख गरेका छन् । अमेरिकाको जनसंख्या ३५ करोड रहेको छ ।
अमेरिकामा हालसम्म करिव २ लाख मानिसको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ भने ६७ लाख बढी व्यक्ति संक्रमित भएका छन्
























