१८ वटा बैंक, वित्तीय संस्था र अन्य कम्पनीको लाभांश घोषणा
काठमाडौं । दशैंपछि असोज २१ गते मंगलबारदेखि सेयर बजार खुल्दैछ । बजारमा सूचीकृत र नाफामा रहेका कम्पनीले लगानीकर्तालाई लाभांश पनि घोषणा गरिरहेका छन् । यसअघि घोषणा गरिसकेका तर बुक क्लोज हुन बाँकी कम्पनीको सेयर खरिद गर्दा अझै लाभांश पाउँछन ।
बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारण सभामा सहभागी भइ आफ्नो अधिकार प्रयोग गर्न पाइन्छ ।
हालसम्म सूचीकृत १८ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । तीमध्ये ५ को बुक क्लोज भइसकेको छ । अझै पनि १२ कम्पनीको सेयर किन्दा लाभांश पाइनेछ । एउटाको बुक क्लोज बाँकी रहे पनि लाभांश पाइँदैन ।
आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारण सभा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । यहीं व्यवस्थाका कारण कम्पनीहरुले पुस मसान्तभित्र साधारण सभा गरी लाभांश स्वीकृत गर्नु पर्दछ ।
साधारण सभाबाट लाभांश स्वीकृत भएपछि लगानीकर्ताले नगद लाभांश बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउँछन् ।
लाभांश घोषणा गरेका केही कम्पनीले साधारण सभा बोलाइसकेका छन् । चार वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमा एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक र माछापुच्छ्रे बैंक छन् ।
यीमध्ये माछापुच्छ्रे बैंकको बुक क्लोज भइसकेको छ । मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेका छन् । कामना विकास बैंकको बुक क्लोज भइसकेको छ ।
एउटा फाइनान्स कम्पनी मञ्जुश्री फाइनान्स कम्पनी लि.ले लाभांश घोषणा गरेको छ । दुई माइक्रोफाइनान्स आरएसडीसी लघु वित्त र गुराँस लघु वित्त कम्पनी लि।ले लाभांश घोषणा गरेका छन् ।
यस्तै पाँच हाइड्रोपावर कम्पनी भगवती हाइड्रोपावर , अरुणभ्यली हाइड्रोपावर , युनिभर्सल हाइड्रोपावर , मिडसोलु हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर कम्पनी लि.ले लाभांश घोषणा गरेका छन् । यीमध्ये युनिभर्सलको बुक क्लोज भइसकेको छ ।
दुई उत्पादन तथा प्रशोधन कम्पनी युनिलिभर नेपाल लि. र नेपाल ल्युब आयल लि।ले लाभांश घोषणा गरेका छन् । जसमध्ये नेपाल ल्युबको बुक क्लोज भइसकेको छ । त्यस्तै दुई लगानी समूहका कम्पनी निफ्रा र हाथवेले लाभांश घोषणा गरेका छन् । हाथवेको बुक क्लोज भइसकेको छ ।
हालसम्म लाभांश घोषणा गरेका कम्पनी
एभरेष्ट बैंकले १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस, सानिमा बैंकले ७.३६८५ नगद लाभांश, सिटिजन्स बैंकले ०.२६३ नगद र ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन। माछापुच्छ्रे बैंकले ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस,मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनस लाभांश,कामना सेवा विकास बैंकले ५.७८९५ प्रतिशत नगद र १० प्रतिशत बोनस,मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद, आरएसडीसी लघुवित्तले ८ प्रतिशत नगद लाभांश घोषणा गरेका छन।
यस्तै गुराँस लघुवित्त०.७५ प्रतिशत नगद र १४.२५ प्रतिशत बोनस लाभांश दिने घोषणा गरेका छन। युनिलिभर नेपालले १,८४२ नगद लाभांश,नेपाल ल्युब आयलले २० प्रतिशत बोनस लाभांश,निफ्राले ६.३१५८ प्रतिशत नगद लाभांश,हाथवे इन्भेस्टेमेन्टले ०।५३२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस लाभांश दिने घोषणा गरेका छन।
यसैगरि भगवती हाइड्रोपावरले ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस, अरुणभ्याली हाइड्रोपावरले ०.४२१ प्रतिशत नगद र ८ प्रतिशत बोनस लाभांश घोषणा गरेका छन।
युनिभर्सल पावरले ०.४७३७ प्रतिशत नगद र ९ प्रतिशत बोनस, मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनस, सिक्लेस हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनस लाभांश दिने घोषणा गरेका छन।




























