नेकपा स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो ।
यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो । प्रधानमन्त्री निवास वालुवटारमा बसेको बैठकले बाढी पहिरोले पुर्याएको क्षतिमा केन्द्रित हुन निर्देशन दिएपछि बैठक आधा घण्टा बसेर स्थगित भएको थियो ।
पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। सहमतिका प्रयासहरु भए पनि सफल हुन सकेको छैन ।
आज पनि स्थायी कमिटी बस्नुअघि दुई अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर सहमतिको प्रयास गर्ने बताइएको छ। त्यसपछि बैठक बस्ने या नबस्ने तय हुने नेताहरुले बताएका छन् ।
यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् । पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताउनुभयो । बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उहाँले गर्नुभयो । ।
कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४४४ केन्द्रीय सदस्य छन् । यसअघि केन्द्रीय समितिको बैठक माग गर्दै ठाकुर गैरे, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेता धुम्बाराहीमा धर्ना बस्नुभएको थियो । त्यति बेला स्थायी कमिटी बैठक सम्पन्न भए पनि केन्द्रीय समिति बैठक बोलाउने आश्वासन नेताहरूले दिनुभएको थियो ।
स्थायी कमिटी बैठकले निर्णय गर्न नसक्ने अनुमान पछि केन्द्रीय समिति बैठक माग गरिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानले बताउनुभयो ।




























