वाणिज्य बैंकहरूको चैत्र महिनाको व्याजदर यस्तो छ
काठमाडौं । वाणिज्य बैंकहरूद्वारा २०८१ चैत महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेका छन। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये अधिकांशले निक्षेपको व्याजदर अघिल्लो महिनाकै व्याजदरलाई यथावत राखेका छन् ।
आज चैत १ गतेदेखि लागू हुनेगरी सार्वजनिक भएको व्याजदरमा ३ वटा बैंकले भने व्याजदर केही घटाएका छन् । गत फागुन महिनामा औषत ६.०१ प्रतिशत रहेको व्याजदर चैत महिनाको लागि घटेर ५।९३ प्रतिशतमा झरेको छ ।
मुद्धति निक्षेपको अधिकतम् व्याजदर एनआईसी एसिया बैंक लि.र एनएमबी बैंक लि.को रहेको छ । एनआईसी बैंक र एनएमबी बैंकले चैत महिनाको लागि ६.६ प्रतिशत व्याजदर तोकेका छन ।
त्यस्तै, न्यूनतम् व्याजदर लक्ष्मी सनराइज बैंक लि.को ४.७५ प्रतिशत रहेको छ । लक्ष्मी सनराइजले फागुन महिनाको तुलनामा व्याजदर घटाएको छ । त्यसैगरी हिमालयन बैंक लि.र नेपाल बैंक लि.ले दुवैले व्याजदर घटाएर ५.५ प्रतिशत कायम गरेका छन् ।
त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्स बैंक लि.को ६.२५ प्रतिशत, सानिमा बैंक लि।को ६.०५ प्रतिशत, प्रभु बैंक लि.को ६.१ प्रतिशत, ग्लोबल आइएमई बैंक लि., सिद्धार्थ बैंक लि.र माच्छापुच्छ्रे बैंक लि.ले ६ प्रतिशत व्याजदर कायम गरेका छन् ।
प्राइम कमर्सियल बैंक लि.ले ६.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.ले ६.५ प्रतिशत, एभरेष्ट बैंक लि.ले ६ प्रतिशत, नविल बैंक लि.ले ५.७५ प्रतिशत, कुमारी बैंक लि.ले ५.८१ प्रतिशत, नेपाल एसबीआई बैंक लि.ले ५.५ प्रतिशत, कृषि विकास बैंक लि.ले ५.५१ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंक लि.ले चैत महिनाको लागि ६ प्रतिशत व्याजदर कायम गरेका छन् ।



























