वाणिज्य बैंकहरूले ३० अर्ब आयकर राजस्व बुझाए
काठमाडौं । बीस वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा सरकारलाई आयकर,व्याजकर लगायत गरि करिव ३० अर्ब रुपैयाँ बुझाएका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा हाल संचालनमा रहेका २० वटा बाणिज्य बैंकहरुले आम्दानी बापत सो बराबरको आयकर बुझाएका हुन् ।
गत आर्थिक वर्ष बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ आयकर बुझाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.७३ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षमा बैंकहरूको कर्जा माग कम भएर व्यापार घटेपनि अघिल्लो आर्थिक वर्षमा पनि बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख रुपैयाँ आयकर तिरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत आयकर सरकारलाई तिर्नु पर्छ । बैंकहरुले आयकर तिरेपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि लाभांश वितरण गर्दछ । गत आर्थिक वर्ष ९ वटा बैंकहरुको आयकर घटेको छ ।
तर, त्यसबाहेक अन्य बैंकको भने बढेको देखिन्छ । गत आर्थिक वर्ष सबैभन्दा धेरै आयकर नबिल बैंक लिमिटेडले बुझाएको छ । एक आर्थिक वर्षको आम्दानीबाट बैंकले सरकारलाई २ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ आयकर तिरेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो ४.९ प्रतिशत कमी हो ।
नबिल बैंकसहित प्रभु बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वाधिक कर बुझाएका छन् । यी बैंकहरुले गत आर्थिक वर्ष सरकारलाई २ अर्ब भन्दा बढी आयकर तिरेका हुन् । सर्वाधिक आयकर बुझाउनेको दोस्रो सूचीमा प्रभु बैंक देखिएको छ।
गत आर्थिक वर्ष बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १२६.२१ प्रतिशत बढाएर २ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ आयकर बुझाएको छ । यता, ग्लोबल आइएमई बैंकले भने २ अर्ब ५५ करोड १२ लाख रुपैयाँ र एनआइएमबिले २ अर्ब १४ करोड ४१ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरै आयकर तिर्नेमा कुमारी बैंक, हिमालयन बैंक शीर्ष सूचीमा छन् । अघिल्लो आर्थिक वर्षमा कुमारी बैंकले ४८ करोड ३७ लाख रुपैयाँ मात्रै आयकर सरकारलाई बुझाएका थियो ।
तर, गत आर्थिक वर्ष भने २३५ प्रतिशत बढाएर १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ बुझाएको छ । यता, हिमालयन बैंकको पनि १६४.४९ प्रतिशत बढेर १ अर्ब २० करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।
गत आर्थिक वर्ष आफ्नो नाफाबाट एभरेष्ट बैंकले पनि १ अर्ब ९० करोड ४ लाख रुपैयाँ आयकर बुझाएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८९ कारेड ९४ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब ६५ करोड ३९ लाख, कृषि विकास बैंकले १ अर्ब ६४ करोड ३ लाख, सिद्धार्थ बैंकले १ अर्ब ३४ कारेड ४५ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब २३ कारेड ५७ लाख, नेपाल बैंकले १ अर्ब २३ करोड ४६ लाख र एनएमबि बैंकले १ अर्ब ६६ लाख रुपैयाँ आयकर बुझाएका छन् ।
यस्तै, सानिमा बैंकले ९७ करोड २३ लाख, नेपाल एसबिआई बैंकले ८६ करोड ५३ लाख, सिटिजन्स इन्टरनेशनलले ७४ करोड ४३ लाख, माछापुच्छ्रे बैंकले ६९ करोड ५ लाख र एनआइसी एशिया बैंकले ५४ करोड ९३ लाख रुपैयाँ सरकारलाई आयकर तिरेका छन् ।