मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल

काठमाडौँ । सुजिता बस्नेतले ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज पहिरिन सफल भएको छ । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नु भएको हो । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल हुनु भएको छ । बस्नेतलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहियाउनु भएको थियो ।
शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा विजेताले नेपालको प्रतिनिधित्व गर्नु हुनेछ ।
कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहनु भएको थियो ।
गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गर्नु भएको थियो । कार्यक्रममा डा. केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित हुनुभयो ।