मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान
काठमाडौँ । मिस सुप्रानेशनल नेपाल २०२६ की विजेता पूर्णिमा कार्की विश्वस्तरीय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड प्रस्थान गरेकी छन् ।
प्रतियोगिता पोल्यान्डको मालोपोल्स्का क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य अन्तिम प्रतिस्पर्धा साउन ४ गते हुनेछ।
पूर्णिमा कानुन विषयमा स्नातक हुन्। उनी सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छिन्।
मिस सुप्रानेशनल नेपाल २०२६ को उपाधि जितेसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति तथा नेपाली महिलाको क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छन्।
प्रतियोगिताका विभिन्न चरणमा उनले राष्ट्रिय पोशाक प्रदर्शन, परिचयात्मक छलफल, प्रारम्भिक मूल्याङ्कन तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गर्नेछिन्।
उनले नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वमञ्चमा उजागर गर्ने अपेक्षा गरिएको छ। प्रस्थानअघि पूर्णिमाले यो यात्रा आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपालीको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको बताइन्।
उनले भनिन्, ‘नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु मेरा लागि ठूलो सम्मान र जिम्मेवारी हो। यो मेरो मात्र यात्रा होइन, सम्पूर्ण नेपालीहरूको यात्रा हो। म आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रयास गर्नेछु।’
यसैबीच, मिस सुप्रानेशनल नेपालका राष्ट्रिय निर्देशक तथा सानुर्भी इन्टरनेसनलका अध्यक्ष डा। सन्तोष उपाध्यायले यस वर्ष नेपालले मिस सुप्रानेशनलको इतिहासमै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले पूर्णिमा कार्कीमा प्रतियोगिताले खोज्ने व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिकता, सामाजिक उत्तरदायित्व तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली प्रस्तुति दिने सबै गुण रहेको उल्लेख गर्दै उनी सुन्दरी मात्र नभई सक्षम, शिक्षित र प्रेरणादायी प्रतिनिधि भएको बताए।
विश्वका प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिने मिस सुप्रानेशनल २०२६ को अन्तिम प्रतिस्पर्धा साउन ४ गते पोल्यान्डमा हुनेछ।





















