‘देउडा आईडल २०८०’ रियालिटी शो हुँदै

काठमाडौं । गायन सम्बन्धि विभिन्न रियालिटी शो हुँदै आएको बेला नेपालमा अब देउडा गायनको छुट्टै रियालिटी शो ‘डेउडा आइडल–२०८०’ हुने भएको छ ।
काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै डेउडा आइडल–२०८० हुने जानकारी गराईएको हो । यो नेपालकै पहिलोपटक डेउडा विधाको रियलिटी गायन शो भएको कार्यक्रममा डेउडा सांस्कृतिक मञ्चका तर्फबाट जानकारी गराईयो ।
अग्रद देउडा गायक तथा देउडा आईडलका प्रमुख निर्णायक नन्दकृष्ण जोशीले कार्यक्रममा भने,‘ देउडा भनेको सुदूरपश्चिम र कर्णाली प्रदेशको साँगीतिक चिनारी हो ।
हाम्रो देउडा संस्कृतिसँगै भाषा संस्कृति र भेषभूषाको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजन गर्न लागिएकोमा खुसी लागेको छ ।’ डेउडा गायक जोशीले देउडा आइडललाई सफल पार्न सम्पूर्ण डेउडा प्रेमीलाई आग्रह गर्दै अबको एक दशकभित्र डेउडा गीत सारा नेपालीले गाउने दाबी गरे ।
यो रियालिटी शोको मुख्य निर्णायकमा जोशी तथा अरु निर्णायकमा गायक तिलकसिंह पेला र टीका पुन रहेका छन् । डेउडा आइडलको अडिसन यही असोजबाट कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा सञ्चालन हुने भएको छ ।
प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेशकुमार औजीले कार्यक्रममा जानकारी गराए । डेउडा संस्कृतिलाई जिवन्त बनाउनका लागि डेउडा आइडल आयोजन गर्न लागिएको पनि कार्यक्रमका संयोजक औजीले बताए ।
यो कार्यक्रमको प्रत्यक्ष प्रशारण हरेक साता शुक्रबार र शनिबार बेलुका टीभी टुडे टेलिभिनबाट हुने भएको छ । पत्रकार सम्मेलनमा टीभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले डेउडा आइडल सुदूर र कर्णालीका प्रतिभाहरूका लागि उत्कृष्ट मञ्च हुने दाबी गरे ।
पछिल्लो समय चलचित्रमा महत्वका साथ राख्न थालिएको देउडा गीत बिस्तरै देश बिदेशमा सुन्न थालिएको बताए ।
कार्यक्रममा बोल्दै अर्का निर्णायक तिलकसिंह पेलाले डेउडा आइडल देउडा गीत मात्र नभएर कर्णाली र सुदुर पश्चिमलाई चिनाउने माध्याम पनि भएको बताए । अझ देउडाकै आईडल हुनु आफुहरुको लागि गर्वको कुरा भएको पनि उनको कथन थियो ।
सो कार्यक्रमका दिनेश खड्काले डेउडा आइडल १६ सृँखलासम्म निर्माण हुने बताए । यो कार्यक्रमको उद्घोषण अनिता चलाउने र राकेश दयालले गर्ने छन् । मंसिरदेखि टेलिभिजनमा देउडा आईडलको प्रशारण सुरु हुने भएको छ ।
१७ असोज २०८०, बुधवार १४:४४ बजे प्रकाशित