stcnepal long ad
himalayan life insurance long ad

पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । पछिल्लो दुई वर्षको हेर्दा चालु आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख नाघ्ने देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात लाख ६० हजार ३९१ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । जुन सङ्ख्या गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको ११ महिनामा नौ हजारले बढी हो ।

गएको जेठसम्म प्रतिमहिना औसतमा ६९ हजार १२६ र प्रतिदिन दुई हजार ३०४ जनाले स्वीकृति लिएको देखिएको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या आगामी दिनमा पनि यही अनुसार हुने हो भने वर्षभरिमा आठ लाख ३० हजार नेपाली श्रम स्वीकृति लिएर विदेश पुग्ने देखिन्छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले चालु आर्थिक वर्षको ११ महिनासम्म वैदेशिक रोजगारीका लागि सात लाख ६० हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जान छ लाख ९७ हजार युवाले श्रम स्वीकृति लिएका थिए । जुन गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिलामा श्रम स्वीकृति लिनेको सङ्ख्या ६३ हजारले बढी हो ।

युएई पहिलो श्रम गन्तव्य

चालु आर्थिक वर्षको ११ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार सो अवधिमा सात लाख ६० हजार ३९१ जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि करिब दुई लाख छन् । युएई अघिल्लो वर्षदेखि लगातार नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश भएको छ ।

यस अवधिमा नेपालीको दोस्रो र तेस्रो श्रम गन्तव्य देश क्रमशः साउदी अरब र कतार रहेका छन् । अघिल्लो वर्ष दोस्रो श्रम गन्तव्य देशमा कतार र तेस्रो साउदी अरब थिए ।

दुई वर्षअघिको पहिलो श्रम गन्तव्य देश रहेको मलेसिया यस अवधिमा भने सातौँ स्थानमा छ । चौथो स्थानमा कुवेत रहेको छ भने पाँचौँ र छैटौँ स्थानमा क्रमशः जापान र बहराइन रहेको विभागले जनाएको छ ।

विभागका अनुसार यो वर्ष असोजबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५५ हजार नाघेको छ । असोजमा नेपालीको चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम देखिएको हो ।

विभागका महानिर्देशक भट्टराईले गत वर्षदेखि लगातार युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । पछिल्ला वर्षमा युएईमा पर्यटन, उत्पादन र सेवा सम्बन्धी रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकका लागि नयाँ नयाँ अवसर सिर्जना गरेसँगै युएईमा नेपाली श्रमिकको माग बढेको उहाँको भनाइ छ ।

विप्रेषण साढे तेह्र खर्बभन्दा बढी

विदेश गएका नेपालीले पठाएको रकम (विप्रेषण) केही वर्षयता निरन्तर उकालो लागिरहेको छ । सोही क्रममा चालु आर्थिक वर्षको १० महिनामा विप्रेषणमार्फत १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३.२ प्रतिशतको बढी हो । गत आर्थिक वर्षको वैशाखसम्ममा पनि विप्रेषण १६.९ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैङ्कले गएको साता सार्वजनिक गरेको प्रतिवेदन अनुसार गएको वैशाखमा मात्र एक खर्ब ६५ अर्ब ३० करोड रुपियाँ विप्रेषण नेपाल भित्रिएको छ ।

मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको विप्रेषण हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि धेरै विप्रेषण गत फागुनमा एक खर्ब ५१ अर्ब र असोजमा एक खर्ब ४४ अर्ब रुपियाँ भित्रिएको थियो ।