इपिएसको पहिलो चरणको परीक्षामा ६ हजार बढी उत्तीर्ण
बैशाख ९ देखि सिप परीक्षा हुने
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणको भाषा परीक्षामा ६ हजारभन्दा बढी उत्तीर्ण भएका छन् ।
सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणको परीक्षामा ६ हजार ३ सय २१ जना उत्तीर्ण भएका हुन् ।
परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग ९एचआरडी० ले गएराति गरेको जनाइएको छ ।
पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको दोस्रो चरणको सिप परीक्षण भने आउँदो वैशाख ९ देखि १५ सम्म सञ्चालन गरिने छ । परीक्षामा ४० हजार ५८० जना सहभागी भएको इपिएस कोरिया शाखाले जानकारी गराएको हो ।
शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सञ्चालन गरिने सिप परीक्षामा सहभागी परीक्षार्थीले साथमा राहदानी, प्रवेशपत्र अनिवार्य लिएर जानुपर्ने छ ।
इपिएस शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रक्रियामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु पर्ने जनाएको छ ।
भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकामा यस वर्षका लागि १६ हजार चार सय छनोट गरेर पठाउने योजना छ । हिजो उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।