इजरायलमा भिसा नवीकरण नेपाली श्रमिकलाई समस्या

काठमाडौँ । इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता (जिटुजी) मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो ।
दूतावासका अनुसार भिसा नवीकरण समयमा नभएपछि दूतावासले इजरायली पक्षसँग छलफल अघि बढाएको छ ।
नेपाली दूतावासका अनुसार दूतावासले इजरायलमा सरकारी तवरबाट आएका नेपाली श्रमिकको भिसा नवीकरणका लागि इजरायलको पपुलेसन तथा इमिग्रेसन अथोरिटी ९पिवा० सँग कूटनीतिक पहल गरिरहेको छ ।
विशेष गरी पछिल्लो समय सरकारी सम्झौता ९जिटुजी० इजरायल गएका नेपाली सहायक श्रमिकको भिसा नवीकरणमा देखिएको समस्या समाधानका सम्बन्धमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ ।
पिवाले भिसा नवीकरण हुन बाँकी नेपाली श्रमिकलाई इजरायलमा कुनै समस्या नहुने आश्वासन दिएको छ । साथै बैठकमा कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा समेत कुराकानी भएको थियो ।
इजरायलको केयरगिभरमा सहायक श्रमिकका लागि नौ हजार ६९९ जनाले निवेदन दिएकामा एक हजार १४७ जना छनोट भएका थिए ।
हालसम्म इजरायल प्रवेश गरेका नेपाली युवामध्ये ७० प्रतिशत अर्थात् लगभग ७७० महिला र ३० प्रतिशत अर्थात् बाँकी ३३० पुरुष रहेका छन् ।
पिवाले छनोट गरेका एक हजार १७५ जनामध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । अन्तिम नामावली प्रकाशित भएकामध्ये केही श्रमिक भने जान योग्य नभएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
इजरायल जाने नेपालीले मासिक एक हजार छ सय अमेरिकी डलर अर्थात् हालको विनिमय दर अनुसार करिब एक लाख ९० हजार रुपियाँ पारिश्रमिक पाउँछन् ।
एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि थपेर पाँच वर्षसम्म बस्न पाइने व्यवस्था छ । इजरायलको कृषि उद्योगमा धेरै नेपाली कार्यरत छन् ।
१२ असोज २०८०, शुक्रवार ०६:३१ बजे प्रकाशित