stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एसइईमा अनुत्तीर्ण नब्बे हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् ।

सिटिइभिटीको यस निर्णयसँगै एसइईमा अनुत्तीर्ण भएका अर्थात् एनजी समूहमा परेका ९० हजार ८८८ जना विद्यार्थीले यो कोर्सको अध्ययन गर्न पाउने भएका छन् ।

एनजीमा परेका विद्यार्थीको एक वर्षसम्मको समय खेर नजाओस् भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जोडबलमा सिटिइभिटीले उनीहरूलाई प्री डिप्लोमा कोर्समा भर्नाको अवसर दिएको हो ।

प्री डिप्लोमा कोर्स १८ महिनाको हुन्छ । कोर्स अनुसार कुनैमा १२ महिनाको पढाइ तथा छ महिनाको ओजेटी (अन द जब ट्रेनिङ) रहन्छ भने कुनैमा १५ महिनाको पढाइ र तीन महिनाको ओजेटी हुन्छ ।

जस अन्तर्गत होटेल व्यवस्थापन, कृषि, इन्जिनियरिङ विधामा आधारित छ । यी विधा अन्तर्गत २३ वटा विषयमा आधारित रहेर पढ्न पाइन्छ ।

सिटिइभिटीका सहपरीक्षा नियन्त्रक गोविन्दकुमार श्रेष्ठका अनुसार एसइईमा सहभागी भएर जति वटा विषयमा एनजी आएका परीक्षार्थीले पनि यो कोर्सको अध्ययन गर्न पाउने छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि एसइईमा सहभागी परीक्षार्थीको नतिजालाई उत्तीर्ण र एनजी समूहमा विभाजन गरेर सार्वजनिक गरेको थियो । गत वर्षसम्म भने उनीहरूको प्राप्ताङ्क अनुसार विभिन्न ग्रेडमा विभाजन गरेर नतिजा सार्वजनिक गर्ने गर्दथ्यो ।

यसरी सार्वजनिक गरिएको नतिजामा निश्चित ग्रेड (विशेष गरी तल्लो ग्रेड हासिल गरेका) परीक्षार्थी प्री डिप्लोमा तहको कोर्समा भर्ना हुने गरेका थिए । गत वर्ष नतिजामा एनजी राख्ने प्रावधान थिएन ।

२०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सम्पूर्ण परीक्षार्थीलाई बोर्डले पहिलो पटक ग्रेड वृद्धि परीक्षामा सहभागी हुने मौका दिएको थियो ।

ग्रेड वृद्धि परीक्षामा दुई लाख १० हजार ३२१ जना सहभागी भएकोमा ५६.७८ प्रतिशत अर्थात् एक लाख १९ हजार ४२५ जना मात्रै उत्तीर्ण भएका थिए ।

उक्त नतिजा असोजको दोस्रो साता सार्वजनिक भएको थियो । जबकि असारमा सार्वजनिक भएको एसइईको पहिलो नतिजामा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।

ठुलो सङ्ख्यामा परीक्षार्थी अनुत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुनबाट वञ्चित भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो ।

ग्रेडिङ निर्देशिका, २०६८ मा दुई विषयमा एनजी आएका विद्यार्थीले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा मन्त्रालयको निर्देशनपछि यस पटक उक्त निर्देशिका संशोधन गरेर परीक्षामा अनुपस्थित तथा नन ग्रेडेड सबैलाई परीक्षामा सामेल हुने अवसर दिइएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long