गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओमा नियुक्त
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि गुरुङलाई नियुक्त गरेको हो । सञ्चालक समितिले २२ आवेदकहरु मध्येबाट ५ जनालाई सर्टलिस्टिङ गर्दै अन्तत गुरुङलाई चयन गरेको हो ।
सर्टलिष्टमा कृषि विकास बैंककै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने, हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव थिए ।
सीईओ पदका लागि २२ जनाको आवेदन परेको थियो । सर्टलिष्टमा परेकाहरुलाई शनिवार अन्तर्वार्ता लिइएको थियो । कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्यायको कार्यकाल सकिएपछि रिक्त रहेको सीर्इओ पदका लागि १ महिनाअघि दरखास्त आह्वान गरेको थियो ।
गुरुङ सिभिल बैंक छाडेर म्यानमार सिटिजन बैंकको सिइओ पदमा नियुक्त भएका थिए । उनि उक्त बैंकको जागिर छाडेर नेपाल फर्किएका थिए । गुरुङको आवेदन पर्ने वित्तीकै कृषि विकास बैंकको सिइओको बाजी गुरुङले नै मार्ने आकलन गरिएको थियो ।
गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । लमजुङमा जन्मिएका गुरुङ गीत संगीत क्षेत्रमा सक्रिय छन् ।
सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए । र, त्यसको केही महिनापछि उनलाई सञ्चालक समितिले सीइओमा नियुक्ति गरेको थियो ।
२५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गरेको अनुभव छ ।