stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मुद्रास्फीति बाह्र प्रतिशत पुग्ने प्रक्षेपण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि चालू आर्थिक वर्ष मुद्रास्फीति सीमाभन्दा धेरै माथि पुग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आव २०७९÷८० को प्रथम त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा अनुसार मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने देखिएको हो ।

चालू आर्थिक वर्ष उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा ८ दशमलव ५ प्रतिशतको हाराहारीमा पुगिसकेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिना र एक वर्षपछिको मध्य (मेडियन) अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत पुग्ने देखिएको छ ।

अपेक्षित मुद्रास्फीति सर्वेक्षण चालू आर्थिक वर्षको असोज २३ देखि असोज २९ गतेसम्म ५७ सहरका ६० बजार क्षेत्रका बासिन्दासँग अन्तर्वार्ता लिएर सम्पन्न गरिएको राष्ट्र बैङ्कले जनाएको छ । सर्वेक्षणमा प्रस्तुत परिणाम दुई हजार ४० जनाको प्रतिक्रियामा आधारित रहेको छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस वर्षको सर्वेक्षणमा ८९९ जना थपिएका छन् ।

सर्वेक्षणमा सहभागी ८६ दशमलव ६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९५ दशमलव ७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।

खाद्य र खाद्यवस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षित मुद्रास्फीति सर्वेक्षणले देखाएको छ ।

खाद्य र खाद्य समूह अन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसला र गैरखाद्य र सेवा समूह बाहेकका अन्य समूह तथा उपसमूहको मूल्य वृद्धि हुने देखिएको छ । राष्ट्र बैङ्कले कसिलो नीति अवलम्बन गरेपश्चात् अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेकोसमेत मुद्रास्फीति सर्वेक्षणमा उल्लेख छ ।

चालू आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुको ७.६८ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ असोज महिनामा यी क्षेत्रमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

चालू आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३।८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्य वृद्धि क्रमशः १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य वृद्धि १९.२७ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.५९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ४.९२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.३४ प्रतिशतले बढेको छ ।

यस्तै असोज महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari