साउनमा बैंकहरूको मुनाफा बढयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा बढी प्रिमियम लिने बैंकहरूलाई कारबाही गर्ने तयारी गरेको छ । ऋणीहरूले गरेको उजुरीका आधारमा नेपाल राष्ट्र बैंकले बढी प्रिमियम असुल्ने बैंकहरूलाई कारबाही गर्ने तयारी गरेको बताइएको छ ।
पछिल्लो एक वर्ष यता बैंकिङ प्रणालीमा चरम तरलता अभाव कायम रहेको छ । जसका कारण बैंकहरूले ग्राहकको माग अनुसार कर्जा लगानी गर्न सकेका छैनन् ।
यद्यपि, तरलता अभावकै बीच बैंकहरूले न्यून मात्रमा भए पनि कर्जा लगानी गरिरहेका छन् । यसरी कर्जा लगानी गर्दा बैंकहरूले अन्य समयमाभन्दा बढी प्रिमियम लिएर कर्जा दिने गरेको गुनासो राष्ट्र बैंकमा पुगेको छ ।
सोही आधारमा आवश्यक अध्ययन/अनुसन्धान गरी धेरै प्रिमियम लिने बैंकहरूलाई कारबाही गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
कोरोना कालमा अधिक तरलता भएका बेला बैंकहरूले बेस रेटमा एक प्रतिशत मात्रै प्रिमियम जोडेर पनि कर्जा दिएका थिए भने पछिल्लो समय ६/७ प्रतिशतसम्म प्रिमियम लिने गरेको गुनासो बढेको छ ।
नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा यति प्रतिशत प्रिमियम लिन पाउने भनेर सीमा तोकिदिएको छैन । राष्ट्र बैंकको सोही लुपहालको फाइदा उठाउँदै बैंकहरूले मनलाग्दी प्रिमियम लिने गरेको आरोप लागेको छ ।
बैंकहरूले सामान्य अवस्थामा ग्राहकसँगको सम्बन्ध र कर्जाको प्रकृति अनुसार ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जामा लगानी गर्दै आएका छन् ।
तर, अहिले ऋणै नपाउने अवस्था सिर्जना भएपछि बैंकहरूले मनलाग्दी रूपमा प्रिमियम लिन थालेको ऋणीको गुनासो रहेको छ ।
कतिपय बैंकहरूले त आफूले भनेको प्रिमियम नतिर्ने ग्राहकलाई ऋण नदिइ बढी प्रिमियम तिर्ने ग्राहकलाई ऋण दिने गरेको समेत गुनासो आएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
ग्राहकले सहजै ऋण नपाइरहेको अवस्थामा जति प्रिमियम तिरेर पनि ऋण लैजान्छन् भन्ने मनोविज्ञान बुझेका बैंकहरूले ऋणीको ढाड सेक्नेगरी प्रिमियम असुली रहेको पाइएको छ ।
कोरोना कालमा ग्राहकसँगको सम्बन्धका आधारमा एक( दुई प्रतिशत प्रिमियम जोडेर ६ प्रतिशत ब्याजदरदेखि ऋण दिएका बैंकहरूले अहिले १७/१८ प्रतिशतसम्म ब्याजदरमा ऋण दिने गरेका छन् ।
अहिले अधिकांश बैंकहरूको आधारदर दोहोरो अंकमा छ । त्यसमा पनि बैंकहरूले ६र७ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेको छन् । जसकारण ब्याजदर १८ प्रतिशतसम्म पुगेको बताइन्छ ।
कर्जा लगानी गर्दा बढी प्रिमियम लिएको गुनासो धेरै आएपछि राष्ट्र बैंकले अध्ययन गर्न थालेको बताइएको छ । राष्ट्र बैंकले उजुरी र गुनासोका आधारमा बैंकहरूसँग विवरण मागि अध्ययन गरिरहेको छ ।
नेपाल राष्ट्र बैंक स्रोतले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग विवरण मागेर विश्लेषण गरिरहेको छ र बढी लिएको पाइए फिर्ता गर्न लगाउने बताएको छ।
राष्ट्र बैंकले बैंकहरूसँग विवरण संकलन गरेर विश्लेषण गरिरहेका छ । सोही आधारमा बढी प्रिमियम लिएको पाइएमा त्यो फिर्ता गर्न लगाउने भएको छ।
यति नै संस्थाहरूले बढी लिएका छन् भन्ने एकीन भइसकेको छैन । सबै संस्थाहरूबाट सो विवरण संकलन गर्ने काम भइरहेको स्रोतले बतायो।
कर्जा लगानी ठप्प हुँदा पनि चालु आर्थिक वर्षको पहिलो साउन महिनामा बैंकहरूले खुद नाफा गत वर्षको तुलनामा दोब्बरले बढाएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक साउनमा २६ वटा वाणिज्य बैंकले कुल १३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। यो गत वर्षको सोही अवधिको तुलनामा १०८ प्रतिशतले धेरै हो ।
गत वर्ष साउनमा वाणिज्य बैंकहरूले ६ अर्ब ३३ करोड खुद नाफा कमाएका थिए । यद्यपि, साउनमा नबिल बैंकले लेखापरीक्षण अघिको नाफा देखाएका कारण बैंकहरूको खुद नाफा धेरै देखिएको हो ।
नबिल बैंकको बाहेक २५ बैंकहरूले साउन महिनामा ८ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्ष साउनको तुलनामा ३०।३२ प्रतिशतले बढी हो।
कर्जा लगानी ठप्प हुँदा पनि बैंकहरूले कसरी नाफा बढाए भनेर चासोका साथ हेरिएको छ । कर्जा लगानी पनि नहुनु, निक्षेपमा दोहोरो अंकको ब्याज दिँदा पनि बैंकहरूले कसरी नाफा बढाए भन्ने प्रश्न उब्जिएको छ ।
नाफाखोरी बनेको आरोप लाग्दै आएका बैंकहरूलाई पछिल्लो समय उनीहरूले लिने चर्को प्रिमियम, ब्याज, निक्षेप खोसाखोस लगायत क्रियाकलापले थप पुष्टि गर्दै लगेको देखिन्छ ।
बैंकहरूलाई जसरी पनि नाफा मात्रै कमाउनु पर्छ भन्ने ध्याउन्न रहेको ऋणीहरूले आरोप लगाउने गरेका छन्।
























