नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्ज हुन राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति
मर्जर पश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकिकृत कारोबार हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा मर्ज हुन सैद्धान्तिक सहमति दिएको छ ।
राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले मर्जका लागि सैद्धान्तिक सहमति दिएको हो । दुई बैंक एक आपसमा मर्ज हुने भएसँगै जेठ ३० गतेबाट इन्भेष्टमेन्ट बैंक र मेगा बैंककको सेयर कारोबार रोक्का छ । दुवै बैंकबीच मर्जरका लागि जेठ २७ गते सम्झौता भएको थियो ।
सम्झौतामा नेपाल इन्भेष्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेले हस्ताक्षर गरेका छन् ।
मर्जर पश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकिकृत कारोबार हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रति सेयर ९० रुपैयाँका दरले मेगा बैंकलाई गाभ्न लागेको हो । मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । ९० प्रतिशत को स्वापमा मर्जर हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी ३३ अर्ब हाराहारी पुग्नेछ । हिमालयन बैंकसँग मर्जर प्रक्रिया तोडिएसँगै इन्भेष्टमेन्टले मेगासँग मर्जर प्रक्रिया अगाडि बढाएको हो ।