stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन(अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताउनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वित्तीय सेवा प्रदायक संस्थाले अध्ययन–अनुसन्धान नगर्दा देशमा तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार भएको बताउनुभयो ।

देशमा भित्रिने विप्रेषणको ठूलो भाग उत्पादनशील क्षेत्रमा परिचालन नभएकामा चिन्ता व्यक्त गर्दै अर्थमन्त्री खनालले कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रको आकार विस्तार गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले गम्भीर अध्ययन–अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“हाम्रा बैंक तथा वित्तीय संस्थाले आफैँ अध्ययन गरेर कुन क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुन्छ, स्वदेशमै रोजगारी तथा उत्पादन बढ्छ भन्ने निर्णय गर्नेभन्दा पनि व्यवसायीले ल्याएका प्रस्तावका आधारमा मात्र लगानी गर्ने गरेका छन्”, अर्थमन्त्री भन्नुभयो ।

उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकलाई यस्तो अध्ययन तथा अनुसन्धानको नेतृत्व गर्न सुझाव दिनुभयो ।

अर्थमन्त्री खनालले मुलुकमा भित्रिने विप्रेषण ठूलो हिस्सा उपभोगमा खर्च भइरहेको उल्लेख गर्दै त्यसले दीर्घकालीन आर्थिक रूपान्तरणमा योगदान दिन नसकेको बताउनुभयो ।

सरकारी स्वामित्वको बैंक भएका कारण विप्रेषण रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गराउने जिम्मेवारी राष्ट्रिय वाणिज्य बैंकको भएको उल्लेख गर्दै उहाँले त्यसो हुनसके देश आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने बताउनुभयो ।

उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नसके तरलताको प्रभावकारी उपयोग हुने, आन्तरिक उत्पादन बढ्ने र आयात घट्ने बताउँदै उहाँले बैंक तथा वित्तीय संस्थाले उत्पादनमुखी लगानीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

बैंक तथा वित्तीय क्षेत्रमा समष्टिगत रूपमा केही समस्या देखिए पनि समग्र वित्तीय प्रणाली कमजोर नरहेको उहाँले स्पष्ट गर्नुभयो ।

फरक प्रसङ्गमा अर्थमन्त्री खनालले वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हो भन्दै समाजका हरेक वर्गले त्यस निम्ति सहयोग गर्नुपर्ने बताउनुभयो ।

prabhu mahalaxmi
kumari