stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

परामर्श दिएर नेपालीले भित्र्याए अठार अर्ब

Nimb long ad
Prabhu Insurance Long Ad

विदेशमा परामर्श दिएर नेपालीले गर्ने आम्दानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले आकर्षक आम्दानी भित्र्याएका छन् ।

यस अवधिमा नेपालीले १८ अर्ब १० करोड रुपियाँ परामर्श बापत आम्दानी गरेको केन्द्रीय बैङ्कले जनाएको छ । यो विदेशमा उपलब्ध गराएको व्यावसायिक तथा व्यवस्थापनसँग सम्बन्धित परामर्श बापतको आम्दानी हो । गत वर्षको सोही अवधिमा नेपालीले १४ अर्ब ५६ करोड रुपियाँ परामर्शबापत आम्दानी गरेको तथ्याङ्कले देखाउँछ ।

मङ्सिरसम्म नेपालबाट पनि परामर्श बापत करिब दुई अर्ब रुपियाँ बाहिरिएको छ । राष्ट्र बैङ्कका अनुसार सो अवधिमा एक अर्ब ७९ करोड रुपियाँ सोही शीर्षकमा नेपालबाट बाहिरिएको हो । परामर्श बापत नेपाल भित्रिएको र नेपालबाट बाहिरिएको रकमसमेत गर्दा नेपालले यो शीर्षकमा १६ अर्ब ३१ करोड रुपियाँ खुद आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ अर्ब २० करोड रुपियाँ थियो ।

नेपालीले अनुसन्धान एवं विकास शीर्षकमा पनि विदेशबाट आम्दानी गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । जस अनुसार मङ्सिरसम्म पाँच करोड ६५० लाख रुपियाँ अनुसन्धान तथा विकासबापत आम्दानी भएको देखिन्छ ।

यसै शीर्षकमा नेपालबाट दुई करोड ८३ लाख रुपियाँ बाहिरिएको छ । नवप्रवर्तन एवं प्रविधि आविष्कारका लागि महत्वपूर्ण मानिने अनुसन्धान तथा विकासमा नेपालले गर्ने समग्र कारोबार निकै न्यून रहेको उल्लेखित तथ्याङ्कले देखाउँछ ।

यस अवधिमा नेपालीले प्राविधिक तथा व्यापार व्यवसायसँग सम्बन्धित सेवा प्रदान गरेर नौ अर्ब ५५ करोड रुपियाँ भित्र्याएको देखिन्छ । यसै शीर्षकमा नेपालबाट तीन अर्ब ४३ करोड रुपियाँ बाहिरिएको तथ्याङ्क छ ।

विगतको तुलनामा यस किसिमको आम्दानी बढ्दै गएको पनि देखिन्छ । गत आवको यही अवधिमा नेपालले सात अर्ब ३९ करोड रुपियाँ यो शीर्षकमा भित्र्याएको थियो ।

विदेशमा श्रव्यदृश्य सम्बन्धी सेवा दिएर पनि नेपालीले आम्दानी गरिरहेको राष्ट्र बैङ्कले जनाएको छ । यस्तो सेवा दिएर नेपालीले पाँच महिनामा एक अर्ब ५८ करोड रुपियाँ आम्दानी गरेका छन् ।

गत वर्षको सोही अवधिमा यस्तो आम्दानी एक अर्ब ३४ करोड रुपियाँ थियो । चालु आवको पहिलो पाँच महिनासम्म यसै शीर्षकमा नेपालबाट ४५ करोड १३ लाख रुपियाँ बाहिरिएको छ ।

पर्यटकबाट ३४ अर्ब आम्दानी

पाँच महिनामा नेपालले पर्यटकबाट करिब ३४ अर्ब रुपियाँ आम्दानी गरेको छ । भ्रमण शीर्षक अन्तर्गत प्राप्त यो आम्दानी विदेशीले नेपालमा गर्ने खर्चको तथ्याङ्कसँग सम्बन्धित छ । गत वर्षको सोही अवधिमा ३५ अर्ब ११ करोड रुपियाँ आर्जन भएको थियो ।

राष्ट्र बैङ्कका अनुसार यस अवधिमा भ्रमण शीर्षकमा ८८ अर्ब ९७ करोड रुपियाँ नेपालबाट बाहिरिएको छ । भ्रमणका लागि नेपाल भित्रने र नेपालबाट बाहिरिने बिचको अन्तरका कारण नेपाललाई ५५ अर्ब रुपियाँ घाटा यस शीर्षकमा देखिन्छ ।

भ्रमण शीर्षक अन्तर्गत व्यावसायिक भ्रमणबापत दुई करोड १६ लाख रुपियाँ मात्र आम्दानी हुँदा ७४ करोड ७८ लाख रुपियाँ बाहिरिएको छ । व्यक्तिगत भ्रमणतर्फ ३३ अर्ब ९४ करोड रुपियाँ आम्दानी हुँदा ८८ अर्ब २२ करोड रुपियाँ बाहिरिएको छ ।

व्यक्तिगत भ्रमण अन्तर्गत स्वास्थ्य सम्बन्धी, शिक्षा लगायतका भ्रमण पर्दछन् । नेपालबाट अध्ययनका लागि बाहिरिनेको सङ्ख्या अत्यधिक हुँदा शिक्षासँग सम्बन्धित भ्रमण शीर्षकमा मात्रै ५६ अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिएको छ ।

prabhu mahalaxmi
kumari