अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि थप काम गर्न आवश्यक छ: गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् ।
पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् ।
गभर्नर अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याएको छ ।’ गभर्नर अधिकारीले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् ।
‘२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रड जस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ’, उनले भने ।
गभर्नर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे ।‘यो नेपालका लागि एउटा सफलता हो’, उनले भने ।
गभर्नर अधिकारीले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्रालय र विभागहरू थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ ।