आन्तरिक राजश्व विभागले आयकर बुझाउने म्याद थप्यो
अब पुस मसान्तसम्म समय
काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/०८१ को आयकर दाखिलाको म्याद थप गर्दै करदातालाई पुस मसान्त भित्र आयकर दाखिला गर्न आग्रह गरेको ।
विभागले एक सूचना निकाल्दै निजी क्षेत्रका विभिन्न व्यवसायिकरव्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेस गर्ने म्याद २०८१ पुस मसान्तसम्म कायम गरिदिन भनी अनुरोध आएकाले म्याद थप गरेको जनाएको छ ।
आयकर ऐनको दफा ९६ मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको ३ महिनाभित्र उक्त वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।
सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने व्यक्तिको आग्रहमा विभागले एकैपटक वा पटक–पटक गरी बढीमा ३ महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।
आन्तरिक राजस्व विभागले गत असोज ४ को निर्णय अनुसार वार्षिक १ करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने व्यवस्था छ । तर, वार्षिक २५ करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुका सम्बन्धमा मंसिर मसान्तसम्म मात्र म्याद थप हुनेछ । यस्तै, वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पुस २० गतेसम्म मात्र म्याद थप हुने सूचना विभागले जारी गरेको थियो ।
सोही सूचना अनुसार म्याद थपको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । सोमबार न्यायाधीश हेमन्त रावलको एकल इजलासले आय विवरण दाखिला गर्ने आन्तरिक राजस्व विभागको गत असोजको सूचना कार्यान्वयन नगर्न प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभागलगायत निकायलाई आदेश दिएको हो ।
कारोबारका आधारमा तोकेको आय विवरण दाखिला गर्ने म्याद थपसम्बन्धी आन्तरिक राजस्व विभागको गत असोजको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको हो ।