नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि आज फेरि ५० अर्ब रुपैयाँ खिच्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि आज फेरि ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप बढिरहेको बेला कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा तरलता थुप्रिएको हो ।
यही तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।
अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । अहिले ३ प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।
निक्षेप संकलन खरिदका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ ।
घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।