मेची भन्सार कार्यालयबाट तीन अर्ब ५८ करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।
उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आर्थिक वर्ष २०८१/८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आर्थिक वर्ष को पहिलो तीन महिनामा रु १९ करोड १७ लाख ४१ हजारले बढी हो ।
आर्थिक वर्ष २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा गत आर्थिक वर्षको भन्दा रु. ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।