बैंकहरुले लगानी गर्न नसकेको २ खर्ब ५७ अर्ब राष्ट्र बैंकमा, ९१ अर्ब २० करोड आइतबार मात्रै बुझाए
काठमाडौं । राष्ट्र बैंकलाई पनि वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न सकस परेको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा एसडीएफ तथा निक्षेप संकलन उपकरणको प्रयोगलाई तीब्रता दिन थालेको छ ।
बैंकहरुले पनि अल्पकालीन उपकरणहरुमा लगानी बढाउँदै लगेका छन् । यसैक्रममा, बैंकहरुले असोज १३ गते आइतबार मात्रै राष्ट्र बैंकमा ९१ अर्ब २० करोड रुपैयाँ बुझाएका छन ।
स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत ४६ अर्ब ९० र निक्षेप संकलन उपकरणमार्फत ४४ अर्ब ३० करोड रकम जम्मा गरेका हुन् । यो सँगै बैंकहरुले निक्षेप संकलन उपकरणमा गरेको २ खर्ब १० अर्ब ९५ करोड रुपैयाँ परिपक्क हुन बाँकी रहन्छ ।
यस्तै, एसडीएफको ४६ अर्ब ९० करोड गरेर कुल २ खर्ब ५७ अर्ब ८५ करोड बैंकहरुको रकम राष्ट्र बैंकमा थुप्रिएको छ ।
राष्ट्र बैंकले आइतबार मात्र निक्षेप संकलन मार्फत ७ दिनको लागि ५० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिच्न चाहेको थियो । ८ बैंक तथा वित्तीय संस्थाले १४ आवेदन मार्फत ४४ अर्ब ३० करोड रुपैयाँ जम्मा गरेका छन् । जसको औसत ब्याजदर २.९७ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्षको हालसम्म निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले १६ पटकमा ५० खर्ब ९१ अर्ब तरलता खिचेको छ ।
यस्तै, बैंकहरुले आइतबार नै स्थायी निक्षेप सुविधा (एसडीएफ) मा ४६ अर्ब ९० करोड रुपैयाँ जम्मा गरेका छन् । बैंकहरुले यो रकम ३ दिनका लागि राष्ट्र बैंकमा राखेका हुन् । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् ।
यसअघि असोज १० गते बैंकहरुलै ४१ अर्ब ७० करोड, असोज ८ मा ३६ अर्ब ३० करोड, असोज ६ मा ३४ अर्ब ३५ करोड रुपैयाँ एसडीएफ राखेका थिए । भदौमा एसडीएफमा घटाउँदै लगेका बैंकहरुले असोजमा भने बढाउँदै लगेको देखिन्छ ।
चालु आर्थिक वर्ष सुरु भए यता असोज १३ गतेसम्म मात्रै बैंकहरुले ६४ खर्ब ७७ अर्ब २० करोडको स्थायी निक्षेप सुविधा (एसडिएफ) उपयोग गरेका छन । बैंकहरुले ३१ पटकमा उक्त रकम राष्ट्र बैंकमा राखेका हुन । अधिक तरलताले अन्तर बैंक दर घट्छ ।
अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ ।
केन्द्रीय बैंकले तरलता खिच्ने र अन्तर बैंक ब्याजदर घट्न वित्तीय प्रणालीको पैसा खिच्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको खण्डमा ३ प्रतिशत ब्याजदरमा सीधै केन्द्रीय बैंकमा निक्षेप राख्न सक्छन ।
हाल कर्जाको औसत ब्याजदर ९.६८ प्रतिशतमा झरेको छ । कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका थिए ।
निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत कम भएपछि कर्जाको औसत ब्याजदर एकल अंकमा आएको हो । ब्याजदर एकल अंकमा झरे पनि आर्थिक गतिविधि बढ्न नसक्दा कर्जाको माग भने खासै बढ्न सकेको छैन।
राष्ट्र बैंकका अनुसार असोज ११ गते शुक्रबारसम्म वित्तीय प्रणालीमा ७२ अर्ब ५२ करोड ८० लाख रुपैयाँ अधिक तरलता छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६५ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५२ खर्ब ३८ अर्ब कर्जा लगानी गरेका छन।
बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७८ प्रतिशत छ। यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ ।
रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो।