citizens life insurance long ad
stcnepal long ad
national life

साउनमा मात्र ४ अर्ब २३ करोड बढी पुँजीगत लाभकर उठ्या

Prabhu Insurance Long Ad

काठमाडौं । अहिले सेयर बजार उचालिएसँगै मुलुकको राजस्व संकलन पनि अघिल्लो वर्षको तुलनामा निकै बढेको छ । पछिल्लो समय सेयर कारोबार बढेपछि पुँजी बजारबाट राज्यले प्राप्त गर्ने राजस्वमा पनि उच्च वृद्धि भएको हो ।

संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको नयाँ सत्ता समीकरणपछि सेयर बजारमा क्रमशः छाएको  हरियालीले  मुलुकलाई  प्राप्त हुने राजस्व संकलन ह्वात्तै बढेको देखिएको छ ।

चालू आव २०८१/८२ को पहिलो महिना साउनमा मात्र धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ पुँजीगत लाभकर उठाएको छ ।

यो गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा १० दशमलव ३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनमा सेयर बजारबाट सरकारले जम्मा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन गरेको थियो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार साउनमा मात्र सेयर बजारका लगानीकर्ताबाट राज्यले प्राप्त गरेको राजस्व गत आवभरकै भन्दा १ अर्ब २७ करोडले मात्र न्यून हो ।

आव २०८०/८१ मा धितोपत्र बजारबाट सरकारले कुल ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सेयर बजारबाट सरकारले जम्मा २ अर्ब ९७ करोड ५ लाख ८९ हजार ३७ रुपैयाँ प्राप्त गरेको थियो ।

यसपालि चालू आवको सुरुवाती महिना साउन एक महिनामा मात्र धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ ।

समीक्षा अवधिमा सेयर बजारको नेप्से परिसूचक ६ सय ९० दशमलव २२ अंकले बढ्दा ४ खर्ब १४ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

चालू आवको पहिलो महिना गत १ साउनमा सेयर बजार ७० दशमलव १८ अकंले बढेर २३ सय १० दशमलव ५९ बिन्दुमा कायम रहेको थियो ।

सो दिन ९ अर्ब माथिको कारोबार भएको देखिन्छ । त्यसपछि क्रमशः सेयर कारोबार बढेर साउन अन्तिम कारोबारसम्म आइपुग्दा बजारमा धेरै उछाल देखिएको छ । गत ३१ साउनमा नेप्से ४३ दशमलव शून्य ५ अकंले बढेर ३ हजार बिन्दुमा आइपुगेको थियो ।

कारोबार रकमसमेत बढेर सो दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो । यसरी हेर्दा समीक्षा अवधिको साउन महिनामा १० कारोबार दिन २० अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको देखिन्छ ।

अहिले अर्थमन्त्रीका रुपमा सेयर लगानीकर्ताले रुचाएका विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेदेखि लगानीकर्ता निकै हौसिएका हुन् । अहिले लगानीकर्ताबीच सेयर कारोबारमा उच्च मनोबल बढेको देखिन्छ ।

अहिले नेपाल राष्ट्र बैंकले समेत संस्थागत लगानीकर्तालाई सेयर धितोकर्जामा लगाएको सीमा हटाएपछि बजारमा लगानी ह्वात्तै बढेको छ ।

नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा कर लाग्ने प्रचलन १ साउन २०५८ सालदेखि सुरु भएको हो ।

आयकर ऐन २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा सरकारले १ साउन २०५८ सालअघि खरिद गर्ने खरिदकर्ताले सो मितिको अन्तिम मूल्यलाई खरिद मूल्य मानेर आफ्नो लगानी बिक्रीबाट प्राप्त लाभमा अग्रिम पुँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले सरकारलाई ७ दशमलव ५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

हाल यस्तो व्यवस्थामा नीतिगत सुधार हुँदै गएको र सरकारसमेत लगानीकर्तामैत्री आएपछि सरकारले प्राप्त राजस्वमा समेत वृद्धि भएको लगानीकर्ताको भनाइ छ ।

लामो समयदेखि नीतिगत अस्थिरताको चेपुवामा परेको पुँजी बजारमा नियामक निकाय र सरकारबीच समन्वय बढेकाले बजारले थप उचाइ कायम गर्दै जाने जसबाट राज्यलाई राजस्व संकलनमा ठूलो फाइदा हने उनीहरूले बताएका छन् ।

लगानीकर्ताको रकमबाट ठूलो राजस्व संकलन गरिरहेको सरकारले लाभकरमा केही छुट दिनुपर्ने माग अहिले लगानीकर्ताले गरेका छन् ।

himalayan life insurance
igi long