stcnepal long ad
global ime bank long

कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढ्यो, निक्षेप परिचालन तेह्र प्रतिशतले वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढेको छ । अघिल्लो आव उक्त कर्जा ८.८ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष यस्तो दाबी ३५.४ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो ।

निक्षेप परिचालन तेह्र प्रतिशतले बढ्यो

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले बढेर सात खर्ब ४२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप छ खर्ब २७ अर्ब २५ करोड रहेको थियो । अर्थात् १२.३ प्रतिशतले बढेको थियो ।

गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह ५.८ प्रतिशत

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब ७६ अर्ब ९४ करोड रुपियाँ पुगेको छ । जुन ५.८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस्तो कर्जा एक खर्ब ७५ अर्ब ९४ करोड पुगेको थियो । जुन ३.८ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बैङ्कहरूको कर्जा प्रवाह ५.० प्रतिशतले र वित्त कम्पनीको ७.७ प्रतिशतले बढेको छ ।

गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

अघिल्लो वर्ष २०८० असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८.० प्रतिशत र ११.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा बैङ्क तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २२.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा १८.१ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा २२.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४६.३ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा १७.६ प्रतिशतले घटेको छ ।

चौध खर्ब बढी निक्षेप सुरक्षण

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्ममा १४ खर्ब ३० अर्ब ४६ करोड रुपियाँ निक्षेप सुरक्षण गरेको छ ।

कोषले २०८१ असार मसान्तमा ५६ बैङ्क तथा वित्तीय संस्थामा चार करोड ५७ लाख ९५ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकमसमेत गरी उक्त रकम सुरक्षण गरेको हो ।

अघिल्लो वर्ष २०८० असार मसान्तमा चार करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको १२ खर्ब ३२ अर्ब ९५ करोड निक्षेप सुरक्षण गरिएको थियो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको दुई खर्ब ९६ अर्ब ४५  करोड  बराबरको  लघु  तथा  विपन्न  वर्ग  कर्जा,  साना  तथा  मझौला  उद्योग  कर्जा  र  कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा समेत) सुरक्षण गरेको छ । २०८० असार मसान्तमा दुई खर्ब ७४ अर्ब ५५ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।

IME Lifesidebar
kumari