ठूला दल मिलेर सरकार बनाउँदा लगानीकर्तामा उत्साह बढेको छ: अध्यक्ष चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आमनागरिकमा उत्साह बढेको बताएका छन्।
महासंघका अध्यक्ष ढकालले राजनीतिक तथा नीतिगत अस्थिरताले स्वदेशी तथा विदेशी दुवै क्षेत्रमा लगानी बढ्न नसकेको एउटा प्रमुख कारण रहेको बताउँदै संसदमा रहेका दुई ठूला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्ताहरूमा आत्मविश्वास बढ्ने र आर्थिक गतिविधि बढ्ने अपेक्षा रहेको बताए ।
‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । अहिले संसद्का दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार निर्माण गरेका छन् ।
यसले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आमउपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ । अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्न सक्छ,’ ढकालले भने ।
कांग्रेस र एमालेको सहकार्यमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । उनले सोमबार नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रिपरिषद्लाई पूर्णता दिई परिणाममुखी काम गर्न मन्त्रीहरूलाई दिएको निर्देशनले निजी क्षेत्रलगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश गएको ढकालले बताए ।
अर्थमा विष्णु पौडेल आउँदा निजी क्षेत्र खुसी
त्यस्तै, उनले अर्थ मन्त्रालयमा यसअघि नै अर्थ मन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको बताए ।
‘अर्थमन्त्रीको रूपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीको रूपमा स्थापित गरिसक्नुभएको छ ।
अहिलेको अर्थतन्त्रको चुनौतीहरू सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ । हामी निजी क्षेत्र उहाँसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधैँ तयार नै छौँ,’ ढकालले भने ।