सम्भावनालाई अवसरमा बदलौँ : अध्यक्ष ढकाल
सिद्धार्थनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र सुधार हुने बिश्वास ब्यक्त गर्नुभएको छ । उहाँले जताततै निरासाका कुराले पनि बजार बिग्रिएको दाबी गर्नुभयो ।
उहाँले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । मुलुकको खस्किदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा उत्पन्न भएको बताउँदै नेपालमा देशभित्र देखिएका सम्भावनालाई अवसरमा बदल्न पनि आग्रह गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालमा प्रसस्त सम्भावना रहेको र ती सम्भावनालाई अवसरमा बदल्न आवश्यक रहेको बताउनुभयो ।
‘मैले त जताततै सम्भावना मात्रै देखेको छु, हरेक पहाडका डाँडामा सम्भावना देखेको छु । कुना कन्दरामा सम्भावना देखेको छु’ उहाँले भन्नुभयो, ‘यी सम्भावनालाई अवसरमा बदलौं, विदेश जाने प्रबृत्ति अन्त्य गरौं ।’
उहाँले आफूले शुन्यबाट सुरु गरेर व्यावसायिक घरानाको नतृत्व गरेको बताउँदै सम्भावनाको पहिचान गर्न नसक्दा नयाँ अवसरको सिर्जना गर्न नसकिएको बताउनुभयो । अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकासको लागि बुटवल उपमहानगरपालिका बुटवल उद्योग वाणिज्य संघसहित निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको बताउनुभयो । यस क्षेत्रलाई पर्यटनको गन्तव्य बनाउन ऐतिहासिक बटौली बजारलाई चलायमान बनाउन उहाँले निजी क्षेत्रको साथ खोजेको बताउनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यावसायिक वातावरण विग्रिदै गएको औंल्याउदै व्यावसायिक वातावरण बनाइदिन तीनै तहका सरकारसँग आग्रह गर्नुभयो । उहाँले मुलुकको खस्किदो अर्थतन्त्र र विग्रिदै गएको व्यावसायिक वातावरण सुधार गर्न सकिएन भने मुलुकको अर्थतन्त्र थप जोखिममा पर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, नेपाल उद्योग महासंघ एशोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्मा, नेपाल उद्योग महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग महासंघका कार्यकारिणी सदस्य राजेश अग्रवाल, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, संघका सल्लाहकार तथा पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।