१८ सहकारीका ऋणीलाई सरकारले दियो अल्टिमेटम
७ दिनभित्र चुक्ता नगरे सम्पत्ति जफत

काठमाडौँ। समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएकाहरूले ७ दिनभित्र रकम चुक्ता गर्नुपर्ने भएको छ।
उक्त अवधिमा ऋण चुक्ता नगरे ऋण लिने र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का गरी कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सूचना प्रकाशित गरी ७ दिनभित्र ऋण तिर्न अल्टिमेटम दिएको हो।
‘अन्तिम पटक ७ दिने सूचना प्रकाशित गर्ने र सो अवधिसम्म पनि ऋणीहरू तथा जमानीकर्ताहरूले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राखिने छ,’ बिहीबार प्रकाशित सूचनामा छ, ‘रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (क) (ख) (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही अगाडि बढाइ ऋण असुल उपर गर्ने निर्णय भएको छ।’
समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापकहरू, ऋणी सदस्यहरू र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक–पटक राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएसमार्फत ३५ दिने सूचनासमेत यसअघि नै प्रेषित गर्दा पनि ऋण चुक्ता नभएको समितिको भनाइ छ।
अधिकांश ऋणीले आफूले तिर्न बुझाउनु पर्ने दायित्व पूरा नगरेकाले सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको समितिको भनाइ छ।
स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोणा भइसकेका छन्। यी सहकारीका ऋणीलाई ऋण तिर्न ७ दिनको अन्तिम अवसर छ।