लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता सडकमा उत्रिए

खोटाङ । खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता सडकमा उत्रिएका छन् । सो सहकारीले बचत अपचलन गरेपछि बचतकर्ताहरु सडकमा उत्रिएका हुन् ।
लामो समय कारोबार ठप्प पारेको सहकारी विरुद्ध बचतकर्ताहरु दोस्रो पटक सडकमा आएका हुन् । २०७८ बैशाख १५ गते कोभिडका कारण सहकारीका अध्यक्ष अनिल जोशीको निधन भएपछि सहकारीको हिसाबकिताब लथालिङ्ग छ ।
अध्यक्षको निधन भएको २९ महिनापछि पनि सहकारी नचलेपछि आफ्नो लाखौ रकम फिर्ताको माग राख्दै बचतकर्ताहरुले दैनिक सहकारीको कार्यालय पुग्नेगरेका छन् । सहकारी कार्यालय अहिले बन्द छ ।
२०७८ बैशाख १६ पछि कुनै पनि कारोवार नभएको सहकारीमा ४ हजार ५०० जना बचतकर्ता र ७४ जना ऋणी रहेका छन् । ऋणीबाट साँवा ब्याजगरी करिव १० करोड उठ्न बाँकी छ ।
न्युनतम ३० हजारदेखि ७५ हजारसम्म ऋण लगेका छन् । साँवा ब्याजगरी बचतकर्तालाई ७ करोड फिर्ता दिनुपर्ने सहकारीले जनाएको छ ।
सहकारीका एकजना पदाधिकारीका अनुसार अध्यक्ष र म्यानेजरले मात्र कारोवार गरेको देखिन्छ । दिक्तेलको पूरानो बैंकचोकमा अहिले सहकारीको कार्यालय पूर्णरुपमा बन्द छ । सहकारी सञ्चालनमा संलग्न तीन जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिसकेको छ ।
अदालतबाट म्याद थपगरी पक्राउ परेकाबाट सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम गोप्य राखिएको छ ।
बचतकर्ताले बचत फिर्ताका लागि भन्दै संघर्ष समिति गठन गरेर २०७९ माघ ९ गते पहिलो पटक सहकारी विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
सहकारीले पैसा दिने कुनै छाँटकाट नदेखाएपछि उनीहरु शुक्रबार पुनः दोस्रो पटक विरोध प्रदर्शन गरेका छन् ।
बचतकर्ताको साँवा, ब्याजसहित बचत रकम फिर्ता नभएको भन्दै बचतकर्ताहरुले बनाएको संघर्ष समितिको नेतृत्वमा दिक्तेल बजारमा दिउसो बृहत प्रदर्शन गरेका छन् । दिक्तेल बजारभरी विरोध प्रदर्शन गरेका बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा केही समय धर्नासमेत दिएका थिए ।
बचतकर्ताले आफ्नो साँवा,व्याजसहित पैसा नपाएसम्म विरोध कार्यक्रम निरन्तर हुने बचतकर्ता धनिराम नछुङले बताउनुभयो ।
बचत अपचलनमा संलग्न अन्यलाई पनि पक्राउ गरी कानुनी कारबाही गर्दै बचतकर्ताको पैसा छिटोभन्दा छिटो पाउनुपर्ने बचतकर्ताहरुको माग छ ।
२० असोज २०८०, शनिवार १५:४१ बजे प्रकाशित