sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सहकारी बैङ्क २१औँ वर्षमा, सेयर पुँजी ८० करोड ८० लाख पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सहकारी क्षेत्रको एक मात्र बैङ्क ‘राष्ट्रिय सहकारी बैङ्क’ले आजबाट २० वर्ष पूरा गरेर २१औँ वर्षमा प्रवेश गरेको छ ।

२०६० असार २५ गते भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सहकारी विभागमा दर्ता भएको बैङ्कले औपचारिक रूपमा २०६१ साउन १९ गतेबाट सदस्य सहकारी संस्थाहरूसँग वित्तीय कारोबार सुरु गरेको थियो ।

सोही दिनलाई आधार मान्दै प्रत्येक वर्षको साउन १९ गतेलाई बैङ्कले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।

यद्यपि, नेपाल राष्ट्र बैङ्कबाट भने सहकारी बैङ्कले २०६७ साउन १० गते मात्र बैङ्किङ कारोबार गर्ने अनुमति पाएको थियो । शुक्रबार सहकारी बैङ्कले विशेष कार्यक्रम गरी आफ्नो २१औँ वार्षिक उत्सव मनाउँदै छ ।

२०६१ सालमा सरकारबाट एक करोड रुपैयाँ र सहकारी संस्थाहरुबाट सेयरबापत उठाइएको एक करोड गरी दुई करोडबाट सुरु भएको बैङ्क यतिबेला अर्बको कारोबार गरिरहेको छ । २० वर्षको अवधिमा बैङ्कले सेवा विस्तार र कारोबारलाई थप आक्रामक बनाउँदै लगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार बैङ्कको कुल सम्पत्ति ६५ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ रहेको छ भने सेयर पुँजी ८० करोड ८० लाख रुपैयाँ पुगेको छ ।

२०८० असार मसान्तसम्म सहकारी बैङ्कमा कुल सेयर सदस्यहरूको सङ्ख्या १६ हजार ६० रहेको छ भने कुल ऋणी सहकारी सदस्यको सङ्ख्या २ हजार ४७४ रहेको छ ।

२०८० असार मसान्तसम्म कूल ५८ अर्ब २४ करोड ५९ लाख रुपैयाँ बचत रहेको बैङ्कले ३२ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैङ्कको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख रुपैयाँ रहेको छ भने विभिन्न कोषमा ५० करोड ४४ लाख रुपैयाँ रहेको बैङ्कले जनाएको छ । हाल बैङ्कको तरलता २१ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

बैङ्कले ६८ शाखा र केन्द्रीय कार्यालय गरी ६९ कार्यालयबाट सदस्य सहकारी सङ्घ र संस्थाहरूलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, तालिम शिक्षा, सहकारी अभियानको संरक्षण र सम्वद्र्धनको लागि पहलकदमी जस्ता विविध गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

gold
prabhu bank
nawakantipur long