बैंक तथा वित्तीय संस्थाको विदा सूचि सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं. २०७९ सालमा हुने बैंक तथा वित्तीय संस्थाको विदा हुने सूची सार्वजनिक गरेको छ । विभिन्न ३४ प्रकारका चाडपर्व तथा महोत्सवका कारण मात्रै करिब ४४ दिन बैंकका कर्मचारीलाई विदा हुने व्यवस्था गरिएको छ ।
तीमध्ये केही दिन सम्बन्धित समुदायका कर्मचारीका लागि मात्रै विदा हुने छन् । यस पटक दसैँको विदा ७ दिन परेको छ । २०७९ असोज १० गते घटस्थापनाका दिन विदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई विदा हुने भएको छ ।
त्यस्तै भाईतिहारमा ५ दिन विदा दिइएको छ । २०७९ कात्तिक ७ गतेदेखि ११ गतेसम्म तिहार विदा छ । ५ वटा विदा भने सरकारले निर्णय गरेबमोजिम कायम हुने राष्ट्र बैंकले जनाएको छ । यी बाहेक प्रत्येक शनिबार विदा हुनेछ ।
२०७९ वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ । २०७९ कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।






















