भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

काठमाडौं । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) को ऋण सहयोगमा नेपाल सरकारको अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंक लि. द्वारा सञ्चालन हुने कृषि रुपान्तरणका लागि समावेशी मूल्य शृंखला भ्याल्यू चेन्स अफ इनक्ल्युसिभ ट्रान्सफरमेसन (भिटा) परियोजनाका लागि नेपाल सरकार तथा कृषि विकास बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख ६ हजार बरावरको सहायक ऋण सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख ढाकाराम तिवारीले हस्ताक्षर गरेका छन्। यस परियोजनाबाट ६ वर्ष अवधिभित्र १ लाख २५ हजार कृषक लाभान्वित हुने अनुमान गरिएको जनाइएको छ।
कृषि मूल्य शृंखलाको विकास र विस्तारका लागि कार्य गर्ने यस परियोजनाले कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर इन्टरनेसनल संस्थासँग सहकार्य गर्दै कृषकहरुको क्षमता अभिवृद्धि गर्ने कार्य समेत गर्ने लक्ष्य रहेको छ ।
३० वर्ष अवधिका लागि कृषि विकासका लागि आईएफएडीको सहयोगमा अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकलाई प्राप्त यस ऋण रकम बैंकले नेपाल सरकारबाट ५ प्रतिशत व्याजदरमा प्राप्त गर्ने बताइएको छ।
कृषि विकास बैंकले निकै लामो अन्तरालपछि यस किसिमको सहुलियत ऋण सहयोग प्राप्त गर्न सफल भएको छ। बैंकिङ बजारमा देखिएको तरलता अभावलाई कम गर्न नेपाल सरकारको यस किसिमको कार्यक्रमले टेवा पुग्ने देखिन्छ।
उक्त सम्झौता कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत प्रताप सुवेदी, विभागीय प्रमुख विना शर्मा, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल र नेपाल सरकारका तर्फबाट उपसचिव विमला अधिकारी तथा लेखाअधिकृत बुद्धराम मल्ल आलेको उपस्थिति रहेको छ।