नेपाल इन्भेष्टमेन्ट बैंकको एजीएमबाट १६ प्रतिशत लाभांश अनुमोदन
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लि.को ३५ औं वार्षिक साधारण सभा गत आर्थिक वर्षका लागि प्रस्तावित १६ प्रतिशत लाभांश अनुमोदन भएको छ।
काठमाडौं दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न सभाले चुक्ता पुँजीको १२।६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश (कर सहित) अनुमोदन गरेको छ।
सभामा आर्थिक वर्ष २०७७/०७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिहरुका बारेमा छलफल भएको छ। यस वर्ष बैंकले रु ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७७/०७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु.१६२ अर्ब रुपैयाँ पुगेको छ । बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५८ शाखारहित बैंकिङ काउन्टर मार्फत आफ्ना ग्राहकलाई सेवा पुर्याउँदै आएको छ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यस बाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।






















