प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारण सभा पुस ६ गते
काठमाडौं । प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारण सभा पुस ६ गते हुने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुने सेयरधनीलाई पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १६.६३१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
बैंकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २२ गते बुक क्लोज गर्दैछ । मंसिर २१ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।






















