नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति चयन
संघको ३५ औँ साधारणसभाले कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार संघको ३५ औँ साधारणसभाले कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्याय अध्यक्षमा निर्विरोध चयन भएका हुन् भने कार्यसमितिले नेतृत्व गर्ने अवधि दुई वर्षका लागि हुनेछ । यसअघि अध्यक्ष रहेका भुवन दाहालको कार्यसमितिमा उपाध्याय उपाध्यक्ष रहेका थिए ।
संघले उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनिल केसी चयन भएका छन् । सदस्यहरुमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपक कुमार देले, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् ।
संघको सल्लाहकारमा पूर्वअध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना चयन भएका छन् ।