नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयरमा आवेदन दिने आज फागुन ३ गते सोमबार अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले माघ १३ गतेबाट शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । १ सय अंकित मूल्यमा चुक्ता पुँजीको १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यस हकप्रदमा पुस २८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।
यस हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआइआर सिंगल सी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ ।
हाल यस बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १७ हजार रुपैयाँ रहेको छ । १००% हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।






















