आगामी सातादेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर कारोबार हुने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने तयारी गरेको छ । माघ १६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको शेयर सूचीकरणको प्रकृया अन्तिम चरण रहेको कम्पनीले जानकारी गराएको छ ।
यसै साताभित्र नेप्सेमा शेयर सूचीकरणको काम सम्पन्न गर्ने गरी काम अघि बढाएकाले आगामी सातादेखि कारोबार गर्न सकिने कम्पनीको भनाई छ । यस कम्पनीले धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो ।
कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ ।
अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात चुक्तापूँजी रू। २० अर्ब कायम भएको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारष्ण तर्फको ८ करोड कित्ता गरी कुल २० लाख कित्ता शेयर नेप्सेमा यसै साताभित्र सूचीकृत गराउँनेछ ।
कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू। ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज पाउनेछ । नेप्सेले सूचीकृत कम्पनीहरुको पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ देखि त्यसको तीनगुणा सम्म मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।
आर्थिक वर्ष ०७६/०७७ सम्मको कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६२ रहेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले रू. ११७ दशमलव ६९ प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण गरेको छ ।