एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न,एक अर्ब ९४ करोड रुपैयाँ मुनाफा वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बैंकले आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आह्वान गरेको साधारणसभा सम्पन्न भएको सिईओ रोशन कुमार न्यौपानेले बताए ।
साधारणसभाबाट गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश बापत कूल एक अर्ब ९४ करोड ३५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको जनाएको छ ।
बैंकले बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । आज सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
बैंकले यस पटकको साधारणसभा डिजिटल माध्यमको सहयोगमा सम्पन्न गरिएको जनाएको छ ।























