सिटिजन्स बैंकले तिनाउ डेभलपमेन्ट बैंक प्राप्ति गर्ने
काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । शनिबार भएको सम्झौता अनुसार सिटिजन्स इन्टरनेशनल बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको हो ।
शनिबार भएको प्ररम्भिक सम्झौतामा मर्जर तथा प्राप्तिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका तर्फबाट संयोजक राजेन्द्रप्रसाद ओझाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
हाल तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने सिटिजन्स इन्टरनेशनलको चुक्तापूँजी ९ अर्ब ८ करोड रहेको छ । दुई बैंकको एक आपसमा गाभिएपछि निक्षेप १ खर्ब १५ अर्ब र ऋण लगानी ९८ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।
प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको बैंकले जनाएको छ ।
_20201017215154.jpg)





























