stcnepal long ad
global ime bank long

दशैंमा नयाँ नोट नआउने, सुकिला नोट सटही र एटीएमबाटै १०० रुपैयाँ निकाल्न मिल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा पनि नयाँ नोट सटही सुविधा नदिने तयारी गरेको छ । विगत दुई वर्षदेखि नयाँ नोटको सट्टा सुकिला नोट सटही गर्दै आएको केन्द्रीय बैंकले यस वर्ष पनि सोही व्यवस्थालाई निरन्तरता दिने तयारी गरेको हो ।

यद्यपि, यसबारे राष्ट्र बैंकले औपचारिक निर्णय भने गरिसकेको छैन । राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार दशैंमा नयाँ नोट सटही गर्ने अभ्यासलाई क्रमश: हटाउँदै लगिएको छ ।

‘हामीले दशैंमा नयाँ नोट सटही गर्ने विषयलाई फेज आउट नै गरेको हो । यसपाली पनि यो सुविधा हुँदैन,’ ती अधिकारीले भने, ‘सुकिला नोटको सटही सुविधा भने दिनेछौं ।’

नयाँ नोट छपाइमा राष्ट्र बैंकको ठूलो रकम खर्च हुने भए पनि दशैंमा टीका तथा पूजा गर्दा नोटमा अबिर, तेललगायतका पदार्थ लाग्ने भएकाले नोटको आयु छोटिने गरेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय डिजिटल दक्षिणाको अभ्याससमेत बढ्दै गएको छ ।

दशैंमा टीका लगाएर दक्षिणा दिन तथा पूजा लगायतका प्रयोजनका लागि साना दरका नोटको माग उच्च हुने भएकाले राष्ट्र बैंकले सुकिला नोट सटहीको व्यवस्थालाई नियमित गर्न लागेको हो । यस वर्षको दशैं कात्तिक ४ गते परेको छ ।

एटीएमबाटै १०० रुपैयाँको नोट

दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न मिल्ने व्यवस्था गर्ने तयारी समेत गरेको छ ।  यसका  लागि राष्ट्र बैंकले बैंक  तथा वित्तीय संस्थालाई पत्राचार गरिसकेको छ ।

हाल अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँका नोट मात्रै निकाल्न मिल्ने व्यवस्था छ । अब भने एटीएममा १०० रुपैयाँका नोटसमेत राखेर ग्राहकले सोही दरका नोट निकाल्न सक्ने व्यवस्था गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार प्राविधिक अध्ययनका क्रममा एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सकिने देखिएको छ । त्यसअनुसार बैंकहरूले आवश्यक तयारी गरी एटीएममा १०० रुपैयाँका नोट राख्नेछन् ।

दशैंमा नयाँ तथा साना दरका नोट साट्न बैंकका काउण्टरमा ठूलो भीड लाग्ने गरेको छ । एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था भएपछि काउण्टरमा हुने भीडसमेत केही कम हुने अपेक्षा राष्ट्र बैंकको छ।

IME Lifesidebar
kumari