मौद्रिक नीतिमा व्यापक सुधार माग्दै बैंकर्स संघको २२ बुँदे सुझाव
काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष २२ बुँदे सुझाव पेश गरेको छ।
अर्थतन्त्रमा देखिएको सुस्तता, बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता, खराब कर्जा (एनपीएल) को चाप तथा लगानी विस्तारमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यसहित संघले नीतिगत सुधारको विस्तृत खाका प्रस्तुत गरेको हो।
संघले सरकारी सुरक्षणपत्र (गभर्मेन्ट सेक्युरिटीज) मा बैंकहरूले गरेको लगानीलाई आवश्यकता परेको बेला तत्काल नगदमा रूपान्तरण गर्न सकिने व्यवस्थित सेकेन्डरी मार्केट स्थापना गर्नुपर्ने प्रमुख माग अघि सारेको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको ब्यालेन्स शीटमा थुप्रिएर बिक्री हुन नसकेका गैर–बैंकिङ सम्पत्तिलाई लिज वा भाडामा दिन पाउने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन गर्नुपर्ने सुझाव पनि दिइएको छ।
संघले दीर्घकालीन रूपमा संस्थापक सेयर संरचनामा पनि सुधार आवश्यक रहेको उल्लेख गर्दै सञ्चालनमा आएको १० वर्ष पूरा गरेका बैंकहरूको संस्थापक सेयरलाई क्रमशः सर्वसाधारण सेयरमा रूपान्तरण गर्नुपर्ने नीति ल्याउन आग्रह गरेको छ। यसले सेयर बजारमा तरलता बढ्ने र संस्थागत पारदर्शिता सुधार हुने विश्वास संघले व्यक्त गरेको छ।
नीतिगत अस्पष्टताका कारण देखिने समस्या समाधान गर्न राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीच एक साझा समन्वय संयन्त्र आवश्यक रहेको पनि सुझावमा उल्लेख छ। प्रोभिजनिङ नीतिमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार लचकता अपनाउनुपर्ने र कर्जा नियमित भए पनि लामो समयसम्म जोखिम वर्गमै राख्ने प्रावधान पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ।
बैंकहरूको आधारदर (बेस रेट) गणनालाई अझ व्यावहारिक बनाउन सञ्चालन खर्च, ऋणपत्र जारी खर्च र निक्षेप सुरक्षण प्रिमियम जस्ता वास्तविक लागत समावेश गर्नुपर्ने सुझाव पनि संघले दिएको छ। साथै, ऋणीको जोखिम प्रोफाइलका आधारमा ब्याजदर निर्धारण गर्न पाउने ‘रिस्क–बेस्ड प्राइसिङ’ प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।
लघुवित्त क्षेत्रमा कर्जाको माग घट्दै गएको र बैंकिङ संरचना परिवर्तन हुँदै गएको भन्दै विपन्न वर्ग कर्जाको हालको ५ प्रतिशत सीमा घटाएर ३ प्रतिशत कायम गर्नुपर्ने प्रस्ताव पनि संघले अघि सारेको छ। यसका साथै स्वास्थ्य र शिक्षालाई प्राथमिकता प्राप्त क्षेत्रभित्र अनिवार्य रूपमा समावेश गर्नुपर्ने मागसमेत गरिएको छ।
यस्ता छन् सुझाब र मागहरु



























