stcnepal long ad
ime life insurance
global ime bank long

आजदेखि बैंकहरुलाई दैनिकरुपमा स्थायी निक्षेप सुविधा दिइने, ब्याजदर स्थिर हुने अपेक्षा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैँकहरूलाई दैनिक रुपमा स्थायी निक्षेप सुविधा (एसडीएफ) दिने भएको छ । राष्ट्र बैंकले मंगलबार एक सुचना जारी गर्दै दैनिक रुपमा स्थायी निक्षेप सुविधा दिने जानकारी गराएको हो । नयाँ व्यवस्था बुधबारदेखि नै लागू हुने राष्ट्र बैंकको भनाइ छ ।

‘यस बैंकको मिति २०८३ जेठ १२ को निर्णयानुसार यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ , ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइकै आएको स्थायी निक्षेप सुविधा मिति २०८३ जेठ १३ देखि लागू हुने गरी यस बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र उपलब्ध गराइने र यसरी उपलब्ध गराइएको सुविधाको साँवा तथा ब्याज रकम भोलिपल्ट अपरान्ह ३ बजे पश्चात् सम्बन्धित संस्थाको खातामा जम्मा गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।

योसँगै अब बैंकहरुले आजबाटै दैनिकरुपमा स्थायी निक्षेप सुविधा पाउने छन् र, भोलिपल्टै साँवा ब्याज पाउने छन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।

‘ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको थियो । त्यसपछि मंगलबार त्यसलाई कार्यान्वयन गरिएको हो ।

पहिला स्थायी तरलता सुविधा मात्रै दिँदै आएको केन्द्रीय बैंकले २०८० फागुन १ गतेदेखि स्थायी निक्षेप सुविधा पनि दिन सुरु गरेको थियो । स्थायी तरलता सुविधा अन्तरगत बैंकहरुले कुनै पनि बेला केन्द्रीय बैंकबाट तरलता सुविधा लिन सक्छन् । त्यसमा उनीहरुले निश्चित ब्याज समेत तिर्नुपर्छ ।

बैंकहरुमा तरलता अभाव भएको बेलामा यो सुविधा राम्रो मानिन्छ । तर, बैंकहरुलाई स्थायी निक्षेप सुविधा भने थिएन । त्यस अवस्थामा २०८० फागुन १ देखि स्थायी निक्षेप सुविधा दिन सुरु गरिएको थियो, जस अन्तरगत बैंकहरुले पैसा बढी भएको बेलामा केन्द्रीय बैंकमा ‘पार्किङ’ गर्न सक्छन् । त्यसबाट निश्चित ब्याज समेत पाइन्छ । बैंकहरुले प्रस्ताव गरेको खण्डमा केन्द्रीय बैंकले यो अस्वीकार गर्न पाउँदैन ।

केन्द्रीय बैंकले ‘खुला बजार कारोबार सम्बन्धी कार्यविधि’ मार्फत यसलाई व्यवस्थापन गर्दै आएको छ । यसअघि सातामा तीन दिन स्थायी निक्षेप सुविधा दिने व्यवस्था थियो ।

बैंकहरुले हप्तामा तीन पटक अर्थात् प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउने थिए । आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको निक्षेप बिहीबार र बिहीबार जम्मा भएको रकम आइतबार परिपक्व भई भुक्तानी पाउने थिए ।

तर, सरकारले पछिल्लो समय आइतबार समेत गरेर सातामा दुई दिन सार्वजनिक विदा दिन थालेपछि सातामा मंगलबार र बिहीबार मात्रै स्थायी निक्षेप सुविधा लिन पाइने भएको थियो । तर, अब दैनिक रुपमा यो सुविधा पाइनेछ ।

राष्ट्र बैंकले तोकिदिएको मापदण्ड र दिनमा बैंकहरुले निक्षेप राख्न प्रस्ताव गरेमा राष्ट्र बैंकले अस्वीकार गर्न पाउँदैन । यसमा राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशत ब्याज दिनुपर्छ ।

अहिले बैंकहरुमा कर्जाको माग न्यून छ । त्यसले गर्दा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न पनि निकै चुनौती हुने गरेको छ । कतिपय अवस्थामा बैंकहरुले अन्तर बैंक कर्जा तथा सापटी पनि एकदमै सस्तोमा लिने दिने गरेका छन् । बचतकै ब्याजदर पनि न्यून हुने जोखिम बढेको छ । समग्रमा ब्याज नै ब्याजदर करिडोरको तल्लो सीमा (२.७५ प्रतिशत) भन्दा तल आउने जोखिम बढेको थियो । त्यसपछि केन्द्रीय बैंकले दैनिक रुपमा स्थायी निक्षेप सुविधा दिने निर्णय गरेको हो ।

चालु आर्थिक बर्ष ०८२/८३ को जेठ १२ गतेसम्म बैंकहरुले १२२ कार्य दिनमा गरेर ३४७ खर्ब ७९ अर्ब १५ करोड रूपियाँ निक्षेप सुविधा ल्याइसकेको छ । राख्ने र झिक्ने गर्दै सो बराबरको कारोबार भएको देखिएको हो ।

यस अन्तरगत अहिले केन्द्रीय बैंकमा ५७ अर्ब ५० करोड रूपियाँ निक्षेप छ । निक्षेप अवधि सकिएपछि त्यो पैसा पनि ब्याज सहित फिर्ता आउनेछ । र, पुनः निक्षेप राख्न पनि सकिने छ ।

prabhu mahalaxmi
kumari