नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता
काठमाडौँ । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमा सम्बन्धी सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौता बमोजिम बैंकमा बालबालिका बचत खाता सञ्चालन गरेका बालबालिकाको रु २० हजारसम्मको दुर्घटना तथा रु पाँच हजारसम्मको औषधोपचार बीमा गरिएको छ ।
बालबालिकाको भविष्यका लागि रकम जम्मा हुनाका साथै बचत गर्ने बानीको विकाससमेत हुने भएकाले उक्त योजना छोटो समयमै अत्यन्त लोकप्रिय भएको हुंँदा उक्त योजना अन्तर्गत यही वर्षभित्रै रु दश हजार खाता खुल्ने प्रक्षेपण गरिएको नेपाल बैंक लिमिटेड, प्रदेश नम्बर ५ का प्रमुख पासाङदोर्जी शेर्पाले जानकारी दिए ।
सम्झौतामा बैंकका तर्फबाट बैंक प्रदेश नं ५ का प्रमुख शेर्पा तथा शिखर इन्स्योरेन्सका तर्फबाट बुटवलका शाखा प्रमुख किरण काफ्लेले हस्ताक्षर गरेका छन् ।
बैंकले ग्राहकको माग अनुसार हालै बजारमा ल्याएको बालबालिका बचत खातामा उच्च ब्याज दर, निःशुल्क एबिबिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सुविधा तथा बालबालिकालाई शैक्षिक उपाधि हासिल गर्ने क्रममा प्राथमिकता लगायत सुविधा छन् ।
खाता मार्फत बालबालिकाको सुनौलो भविष्यका लागि बचत गरिने भएकाले उक्त खातामा जुनसुकै समयमा रकम जम्मा हुन सक्ने तर बालबालिका बालिग नहुंँदासम्म भने रकम निकाल्न नपाइने व्यवस्था छ ।






















