अर्थसचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ लिएका छन् ।
सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
सरकारले ६ महिनामै अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको हो । गत सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । उपाध्याय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव थिए । हालका अर्थ सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
आगामी आर्थिक वर्षको बजेट तयारी सुरु हुनै लाग्दा सरकारले अर्थ सचिव परिवर्तन गरेको हो । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा हालै सार्वजनिक गरिएको छ ।
साथै नेपाल राष्ट्र बैंक पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेको छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सह–रजिष्ट्रारहरु, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा लगायतका अधिकारीहरुको उपस्थिति थियो ।