stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न

१० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले शेयरधनीका नगद लाभांश पारित गरेको हो ।

साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

समग्रमा आ.व. २०८०/८१ मा बैंकको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब ०२ करोड पुगेको हो  । त्यस्तै, साधारण सभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ ।

बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै  आफ्नो बैैकिङ  सेवालाई  आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए ।

बैंकले समुन्नत देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी लगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको पौडेलले बताए ।

नबिलले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांश, बजार पुँजीकरण र जेथामा भएको अभिवृद्धिलाई दृष्टिगत गर्दा, शेयरधनीहरूले बैंकमा सुरु लगानी गर्दाको स्थापनाकालको चुक्ता पुँजी हालसम्म ९६० गुणाले वृद्धि भएको छ ।

यसले ’क’ वर्गका बैंकहरूमध्ये नबिल बैंकले नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा आफ्नो पहिचानलाई निरन्तरता दिन सफल भएको देखिन्छ ।

बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेको छ, जसले यसको उत्कृष्टता र समर्पणलाई प्रमाणित गरेको संकेत गर्छ ।

बैंकले गत वर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट नेशनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट (गोल्ड अवार्ड), साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्सबाट मेरिट सर्टिफिकेट (बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट) लगायतका सम्मानहरू पनि प्राप्त गरेको छ ।

त्यस्तै गरि नबिल बैंकले यो वर्ष आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । यो सहित बैंकले वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ आठौं पटक यो सम्मान प्राप्त गर्न सफल भएको हो ।

नबिलले देशभर २६८ शाखा सञ्जाल सहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।

चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको  अवधारणालाई  आत्मसाथ गर्दै डिजिटल  बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
नबिल बैंक परिवारले साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी र अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari